सांसदको गाडी दुर्घटना प्रकरण : मृतकका आफन्तले शव बुझे

प्रकाशित मिति:

२१ जेठ, विराटनगर – विराटनगर महानगरपालिका– ४ एयरपोर्ट मोडमा भएको सवारी दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव आफन्तले बुझेका छन् । किरिया खर्चबापत रकम लिएर मृतक मुकेश शर्माका दाजुले शव बुझेका हुन् ।

प्रदेश १ को प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट बिहीबार राति साढे ७ बजे भारत कटिहारका ३५ वर्षीय मुकेशको मृत्यु भएको थियो । दुर्घटनामा उनीसँगै काम गर्ने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए । नोबेल अस्पतालमा उपचार गराएर राजवंशी डिस्चार्ज भएका छन् ।

 

मृतकको शव भने पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले पुष्टि गरे । मृतक शर्माको दाजुले ५० हजार भारतीय रुपैयाँ लिएर शव बुझेको स्रोतले बताएको छ ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई जनालाई ठक्कर दिएको थियो । कार उनका छोरा रोबिन भनिने रविन कार्कीले चलाएका थिए ।

विराटनगरको बरगाछी युवा समूहले संक्रमितको शव व्यवस्थापन गर्दा सो कार प्रयोग गर्दै आएका थियो । शव व्यवस्थापनमा रबिन पनि खटिएका थिए । तर उनी बिहीबार शव व्यवस्थापनमा नगएको जानकार स्रोतले बताएको छ ।

बिहीबार उक्त गाडीले होटल एसियाटिक नजिकै दुई जनालाई ठक्कर दिएको थियो । ठक्करपछि सवारी चालक र गाडीमा रहेकाहरु गाडी छाडेर भागे । ‘हाम्रो प्राथमिकता पहिला घाइतेको उद्दार गर्नु थियो, घाइतेको उद्दार गर्दा चालक फरार भए,’ प्रहरी उपरीक्षक खड्का भन्छन्,‘चालक जोसुकै हुन् खोजी गर्दैछौं, कारवाहीको दायरामा ल्याउछौं ।’