पत्रकार चौधरीको परिवारलाई चौतारी र नगरपालिकाको सहकार्यमा एकलाख सहयोग

प्रकाशित मिति:

तिलोत्तमा, २१ जेठ । प्रेस चौतारी नेपाल रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण उपचाररत चौधरीको यही जेठ ५ गते बुटवलको कारोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

स्वर्गीय पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित निवासमा पुुगेर प्रेस चौतारी रुपन्देही शाखाको टोलीले सहयोग स्वरुप संगठनको तर्फबाट ५१ हजार र चौतारीको पहलमा तिलोत्तमा नगरपालिकाबाट प्राप्त ५० हजार गरी एक लाख एक हजार रुपियाँ हस्तान्तरण गरेको हो ।उक्त सहयोग रकम प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीका इन्चार्ज मोहन चापागाईंले स्वर्गीय चौधरीको श्रीमती उदयदेवी कुँवरलाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा उनले यो महामारीमा पत्रकार चौधरीको उपचारमा प्रेस चौतारीको तर्फबाट सक्दो कोशिष भए पनि ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । उनले पीडित परिकारको दुःखमा पार्टी र संगठन सधै साथमा रहने पनि बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका सल्लाहकार दिनेश पाण्डे, उपाध्यक्ष लक्ष्मण पौडेल, तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार विपि गौतम, संगठनका सदस्यहरु दिनेश श्रेष्ठ, स्वस्तिक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका स्थानीय कमिटीका विभिन्न नेताहरुको पनि उपस्थिति थियो ।