नयाँ प्रशिक्षक आएपछि आत्मविश्वास बढेको छ : किरण चेम्जोङ

प्रकाशित मिति:

२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आएपछि खेलाडीमा आत्मविश्वास बढेको बताएका छन् ।विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट खेल्न हाल कुवेतमा रहेका उनले प्रशिक्षकका कारण खेलाडीमा आत्मविश्वास बढेको बताएका हुन् ।

‘मैले राष्ट्रिय टिममा खेल्न थालेको १३(१४ वर्ष भयो । अहिलेको कोचले कन्फिडेन्स दिनुभएको छ । सबै खेलाडीलाई खेल्नका लागि कन्फिडेन्सको वातावरण क्रियट गर्नुभएको छ’ किरणले कुवेतमा शुक्रबार एन्फा मिडिया र सञ्चारकर्मीसंगको कुराकानीमा भने ।छनोट खेल अन्तर्गत समूह बी मा रहेको नेपालले बिहीबार चाइनिज ताइपेईलाई २(० ले पराजित गरेको थियो । अलमुताइरी प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेलेको हो । त्यसअघि शनिबार नेपालले इराकसंग मैत्रीपूर्ण खेलमा ६(२ को हार बेहोरेको थियो ।

किरणले नयाँ प्रशिक्षकको आगमनपछि नयाँ खाले फुटबल अनुभव गर्न पाएको पनि बताए । ‘नयाँ खेलाडीले पनि इराकविरुद्ध प्रभावकारी खेले । हिजो पनि निरन्तरता भयो ।’उनले आफ्नो करिअरको १३ वर्षमा पहिलो पटक नयाँ ढंगले खेल खेलेको बताए । अहिले नेपाली खेलाडीमा गोल गर्न र अट्याक गर्न सक्छु भन्ने आत्मविश्वास बढेको किरणले बताए ।