धनगढी । नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा मागेका छन् । शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशको क्रममा बोल्दै उनले मुख्यमन्त्री त्रीलोचन भट्टको राजिनामा माग गरेका हुन् ।एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको प्रदेशसभालाई समेत जानकारी गराइसकेको अवस्थामा अलग्गै सिटको व्यवस्थापन हुनुपर्ने पनि उनले बताए । बोहराले एमालले समर्थन फिर्ता लिइसकेको अवस्थामा एमाले अब प्रतिपक्ष भइसकेको र समर्थन फिर्तापछि सरकार अल्पमत परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
बोहरा मुख्यमन्त्री भट्टको नेतृत्वको सरकारका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री हुन् । नेकपा एमालेमा उत्पन्न आन्तरिक किचलोसँगै मुख्यमन्त्रीले उनलाई केही महिनाअघि जिम्मेबारीबाट मुक्त गरेका थिए ।
आन्तरिक विवादकै बीच मुख्यमन्त्रीले केही दिनअघि मात्र मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । प्रदेशसभामा नेकपा एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत रहेको छ । यही जेठ १० गते बसेको नेकपा एमालेको स्थायी समिति बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर यो निर्णयको अहिलेसम्म कार्यान्वयन भएको छैन ।