काठमाडौं । महामारीलाई निहुँ बनाएर विभिन्न सञ्चारमाध्यमहरुले श्रमजिवी पत्रकारहरुलाई हटाउन थालेकोमा प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ ।महामारीको बहानामा सञ्चालकरलगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।काउन्सिलका प्रवक्ता दीपक खनालका अनुसार सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गर्नेछ । ‘समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा जनाइएको छ ।
कोरोना महामारी (कोभिड–१९) को दोस्रो लहरमा हालसम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने नौ सय पत्रकार सङ्क्रमित भएका छन् । प्रेस काउन्सिलका अनुसार यसमध्ये २ सय सक्रिय सङ्क्रमित छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू/भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।