चिनियाँ प्रविधि कम्पनीमा अमेरिकी लगानी रोक्दै बाइडेन

प्रकाशित मिति:

काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानीमाथि गरेको प्रतिबन्धलाई विस्तार गरेको छ । राष्ट्रपति जो बाइडेनले अघिल्लो ट्रम्पको कार्यकालमा गरेको निर्णयलाई निरन्तरता दिँदै चिनियाँ सैन्य र प्रविधिसँग सम्बन्धित थप कम्पनीहरूमा प्रतिबन्ध लगाएका हुन् ।डोनाल्ड ट्रम्प प्रशासनले ३१ चिनियाँ कम्पनीमा अमेरिकी लगानीमाथि रोक लगाएका थियो । यो सूचीमा थप कम्पनी समावेश गर्दै बाइडेनले कूल ५९ चिनियाँ प्रविधि र रक्षा कम्पनीहरुमा सैन्य सम्बन्ध र लगानी विस्तारमा रोक लगाउने निर्णय गरेका छन् ।

बाइडेनको यो आदेश अगस्ट २ देखि कार्यान्वयनमा आउने छ । सुरक्षा र मानव अधिकारको हवला दिँदै चिनियाँ कम्पनीमाथि अमेरिकी लगानी रोक्न यस्तो योजना ल्याइएको हो ।ट्रम्पले आफ्नो कार्यकालमा स्मार्टफोन निर्माता ह्वावे, भिडिओ सर्भिलेन्स उपकरण निर्माता हिकभिजनका साथै चाइना मोबाइल, चाइना टेलिकम्युनिकेशन, चाइना युनिकमलगायत केही ठूला दूरसञ्चार कम्पनीहरूमा प्रतिबन्ध लगाएका थिए ।राष्ट्रपति बाइडेनले अघिल्लो सरकारको योजनालाई नै निरन्तरता दिँदै थप कम्पनीमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । प्रतिबन्धित कम्पनीहरुको सूची रक्षा मन्त्रालयले सार्वजनिक गर्ने बताइएको छ ।-एजेन्सी