माधव नेपालले भने – ओली र भारतबीचको साँठगाँठ स्पष्ट भयो

प्रकाशित मिति:

नेकपा एमालेबाट निस्काशनमा परेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतवीच स्पष्ट रुपमा साँठगाँठ रहेको बताएका छन् ।

हिजो पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाए ।

‘केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्छ । हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ’, आफुनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा उनले भने ।

नेपालले सम्बोधनको क्रममा भने, ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’

नागरिकता विधेयक, गिट्टी बालुवा निकासीजस्ता विषयतर्फ इंगित गर्दै नेता नेपालले भने, ‘चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फसेको देखिएको छ ।’कामचलाउ सरकारले यसरी मन्त्रिमण्डल पुनर्गठन गर्न नपाउने नेता नेपालले जिकिर गरेका छन् ।

यो पनि :कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।

कांग्रेसले बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइ दिएको थियो । सरकारलाई विश्वासको मत दिएको दुई महिनापछि कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो ।

दुईजना मन्त्रीसहित कांग्रेस सरकारमा जान लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई सिफारिस गरिएको उनको भनाइ छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कांग्रेस र एमालेका खनाल–नेपाल समूहका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगिएको थियो ।