उपप्रधानमन्त्री महतोले फेरी भने नेपाल बहुल राष्ट्रिय राज्य नै हो

प्रकाशित मिति:

काठमाडौं । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि । नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’आफूहरुको पार्टी अधिकार, पहिचान, सुशासन र समृद्धिका लागि बनेको भन्दै उनले त्यो नहुँदासम्म आन्दोलन हुने बताए । उपप्रधानमन्त्री महतोले अघि भने, ‘संघीयता ल्याएपछि समावेशिताको प्रारम्भ भएको छ । तर पूर्णता पाएको छैन । संविधान नै अपूर्ण छ । उनले अघि भने, ‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो ।