‘चुरेबिना नेपालको तराई र पहाड कल्पनै गर्न सकिँदैन’

प्रकाशित मिति:

काठमाडौँ — चुरेबिना नेपालको तराई र पहाड कल्पनै गर्न नसकिने प्राध्यापकहरुले बताएका छन् । वातावरण दिवसको अवसर पारेर शनिबार पाटन र अस्कल कलेजले संयुक्त रुपमा आयोजना गरेको वेभिनारमा प्राध्यापकहरुले चुरे मास्ने कुरा आफ्नै पैतालो काट्नु सरह भएको बताएका हुन् । नास्टका प्राज्ञ एवं प्राध्यापक डा। दिशनेराज भुजुले भने,जसरी पैतालो बिना मानिस उभिन सक्दैन त्यसरी नै चुरे बिनाको नेपालको भूगोल पनि असम्भव छ । चुरे विनाश भए हिमाल, पहाड, तराई केही पनि रहँदैनन् । उनले चुरेको चुरेका ढंगा, गिटी, बालुवा बेचेर धनी हुने सपना देख्नु त्यो दिवासपना भएको उनले बताए ।

वातावरणविद् समेत रहेका प्राध्यापक भुजुले भने,देश पौरखले धनी हुने हो । बालुवा बेचेर कोही पनि धनी भएको छैन । जापान बालुवा बेचेर हैन घडी, गाडीलगायत विद्युतीय उपकरण र सवारी साधान बेचेर धनी भयो । मुलुक आफ्नै पौरख र मिहिनेतले धनी हुनुपर्छ । चुरे क्षेत्रको एउटा कण बेच्नु पनि अपराध भएको उनले दाबी गरे ।त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागका प्राध्यापक डा। मदन कोइरालाले चुरे क्षेत्रबाट ढुंगा, गिटी, निकाल्नु पारिस्थितिक प्रणालीगत अपराध भएको बताए । चुरेको ढंगा गिटी निस्केपछि महाभारत,पहाड,मध्यपहाडी हिमालीक्षेबाट झन् धेरै खसेर तल झर्छ, उनले भने,यो क्षतिको पुनःस्थापना हुन सम्भव नै छैन ।यसअघि वातावरण विज्ञान केन्द्रीय विभागले चुरेका विभिन्न ३६ वटा जिल्लामध्ये २० वटा जिल्लामा अध्ययन गर्दा ५ सयवटा पहिरो पहिचान भएका थिए ।

चुरे सम्बन्धमा राज्यले लिएको नीति दोहोरो चरित्र भएको अस्काल कलेजका वातावरण संकायका लेक्चरर सिजर भट्टले बताए । एकातिर चुरे बचाउने भनेर बजेट विनियोजन गरेको छ अनि अर्कोतिर त्यही चुरेबाट ढुंगा गिटी बेचेर नाफा कमाउने भनिएको छ । यो मापदण्ड कुनै पनि हालतमा अपनाउन मिल्दैन,उनले भने ।पाटनका कलेजका उपप्राध्यापक एवं वातावरण विज्ञ राजु चौहानले चुरे क्षेत्र जोखिम भएकाले त्यहाँबाट कुनै पनि हालतमा उत्खनन् गर्न दिन नहुने बताए । चुरे बाहेकका क्षेत्रबाट वातावरणीय प्रभाव मूल्यांकन र भौगर्भिक अध्ययनले तोकेको परिणामको उत्खनन् गर्न सकिने तर वातावरणीय अनुगमन र नियमन निरन्तर गर्नुपर्छ, उनले भने । हरेक स्थानीय तहहरुमा वातावरणीय प्राविधिकहरुको उपस्थति अनिवार्य गरे अनुगमनलाई निरन्तरता दिन सकिने उनले बताए ।नेपालमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फेलिएको एकमात्र अटुट जंगल चुरेमा छ । वन्यजन्तु ओहोरदोहरका लागि यो जंगल अटुट रहेको प्राध्यापकहरुले बताए । मानिसको पुर्खाको अवशेष रामापिथेगस चुरेमा नै भेटिएकाले यसको महत्व अझ बढी भएको उनीहरुको भनाइ छ । प्राध्यापक डा.भुजु भन्छन्  चुरे मात्रै नेपालको यस्त ठाउँ हो जहाँ ट्रि(फर्न, साइकसजस्ता प्रजातिहरु भेटिन्छन् ।

चुरेले माथिको पहाडलाई ओत लगाइदिएकाले पनि यसको महत्वपूर्ण धेरै रहेको बताउँदै चुरे उत्खनन् गर्न नहुने उनीहरुले बताए । चुरे विनाशहुँदा पहाडबाट बगेर आउने ढुंगागिटीहरु तराईमा गएर मरुभूमि बन्ने खतरा पनि उत्तिकै हुने उनीहरुले बताएका छन् । मुलुकको कूल भूभागको क्षेत्रमध्ये करिब १३ प्रतिशत क्षेत्र चुरेले ओघटेको छ ।सरकारले जेठ १५ मा बजेट वक्तव्यमार्फत चुरे–भावर र तराई–मधेसमा प्रत्यक्ष असर पुग्ने गरी ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरेपछि यसको सर्वत्र विरोध भइरहेको छ । ढुंगा, गिट्टी र बालुवा निकासी खुला गरिएपछि आधा जनसंख्या ओगटेको तराई–मधेसलाई मरुभूमीकरणतिर धकेलिने भन्दै सरोकारवाला र विज्ञले निर्णय फिर्ताका लागि सरकारलाई दबाब दिइरहेका छन् । नदीजन्य पदार्थको निकासी फुकुवाले चुरे तहसनहस हुने चिन्ता बढेको छ ।