वडाध्यक्षले दिए स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा

प्रकाशित मिति:

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्यालले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गा दिएका छन् । केही समय पहिलेसम्म वडा कार्यालय, स्वास्थ्य चौकी र हुलाक एउटै भवनमा थिए । अहिले वडा कार्यालयको आफ्नै भवन निर्माण गरिएको छ ।स्वास्थ्य चौकी र हुलाक साँघुरो भवनमा छन् । सोही समस्या समाधन गर्न अर्यालले भवन निर्र्माणका लागि साढे ३ रोपनी जग्गा निःशुल्क दिएका हुन् ।

नागरिकको स्वास्थ्य क्षेत्रलाई थप सुविधासम्पन्न र नजिक बनाउन जग्गा उपलब्ध गराएको वडाध्यक्ष अर्यालले बताए ।‘स्वास्थ्य चौकीमा बिरामीले खुट्टा पसार्नसमेत मिल्दैन । लामो समयदेखि निकै साँघुरो भवनबाट सेवा प्रवाह गरिएको छ,’ उनले भने, ‘नागरिकको सजिलोका लागि जग्गा दिएको हुँ ।’भवन निर्माणका लागि अहिले घडेरी निर्माणको काम भइरहेको छ । त्योसँगै केन्द्रमा बजेटको जोहो भइरहेकाले केही समयमै भवन निर्माण हुने अर्यालले जानकारी दिए ।