न्युयोर्कमा पनि सगरमाथा दिवस मनाउने

प्रकाशित मिति:

विश्वकै अग्लो चुचुरोमा पहिलोपटक मानव पाइला पुगेको दिनको सम्झना गर्दै हरेक मे २९ मा मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवस एभरेष्ट डे अब न्युयोर्क राज्यले पनि मनाउने भएको छ । अमेरिकामा रहेको यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन र युनाइटेड शेर्पा एसोसिएसनद्वारा हालै संयुक्त रुपमा आयोजित विश्व सगरमाथा दिवस कार्यक्रममा बोल्दै प्रमुख अतिथि विधान सभा सदस्य जेनिफर राजकुमारले अबका वर्ष न्युयोर्क राज्यले पनि मे २९ मा एभरेष्ट डे मनाउने बताएकी हुन् ।

क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाका अनुसार, विधान सभा सदस्य राजकुमारले अर्को वर्षको कार्यक्रम न्युयोर्कको राजधानी आल्बनीको एसेम्बली हलमा मनाउन आयोजक तथा नेपाली आरोहीहरुलाई निम्तो पनि पठाइने जानकारी दिएकी थिइन ।कार्यक्रममा राजकुमारले क्लाइम्बर्स अध्यक्ष शेर्पालाई राज्य सरकारबाट सगरमाथा दिवसको नाममा दिएको रेजिलुसन प्रमाणपत्र, यू एस नेपाल क्लाइम्बर्स एसोसिएसनलाई साइटेशन र अध्यक्ष शेर्पालाई प्रसंशा स्वरुप व्यक्तिगत साइटेशन गरी तीन वटा प्रमाणपत्र प्रदान गरेकी थिइन । कार्यक्रममा ४० बढी सगरमाथा आरोही लगायतको उपस्थिती रहेको क्लाइम्बर्स एसोसिएसनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।