सेनाले गरेको हिमाल सफाई अभियानमा २७ हजार ६७१ किलो फोहोर संकलन, चारवटा शव फेला

प्रकाशित मिति:

काठमाडौँ– नेपाली सेनाको नेतृत्वमा भएको सफा हिमाल अभियान अन्तर्गत २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको छ । वैशाख २ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन गरिएको सफा हिमाल अभियान २०२१ का क्रममा विभिन्न हिमालबाट कुहिने र नकुहिने गरि २७ हजार ६७१ किलो फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी गराएको हो । सो क्रममा सबैभन्दा बढी फोहर सगरमाथाबाट संकलन भएको छ । संकलितमध्ये अहिलेसम्म १२ हजार ९९५ किलो फोहोर व्यवस्थापन वा पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ । शनिबार सैनिक मुख्यालयमा भएको समापन समारोहमा हिमाल सफाइ अभियानमा खटिएकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने टोली लिडरहरूले झण्डा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सेनाका उपरथी गोकुल भण्डारीले सफा हिमाल अभियानका लागि सरकारी तथा गैरसरकारी बिभिन्न संस्थाबाट सहयोग भएको जानकारी दिए । उनले सफाइका क्रममा नेपाली सेनाका तीन जनाले आमदब्लम हिमालको सफल आरोहण पनि गरेको बताए ।त्यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले प्रतिकुल मौसमका बाब्जुत पनि सेनालाई बिभिन्न तवरबाट सहयोग प्राप्त भएको बताए । उहनले समय समयमा हिमाल सफाइ गर्नुभन्दा फोहोर नै हुन नदिनका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरे ।यस वर्ष हिमाल सफाइका लागि नेपाली सेनाका ४३ तथा सेवा प्रदायक संस्थाले उपलब्ध गराएका ६९ जना शेर्पा सहभागी भएका थिए । वन तथा वतावरण मन्त्रालय, पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसहित सरोकारवाला निकायसँगको सहकार्यमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको व्यवस्थापनमा हिमाल सफाइ अभियान सञ्चालन भएको थियो ।