चुरे दोहनको विरोध गर्दा नेविसंघका महामन्त्री भट्टराईसहित नौजना पक्राउ

प्रकाशित मिति:

निषेधाज्ञाबीच चुरे क्षेत्रको ढुंगा, गिटी र बालुवा निकासीमा सरकारले लिएको नीतिको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । महाराजगन्जमा सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका महामन्त्री दीपक भट्टराईसहित नौजनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले नेविसंघका नेताहरू किशोर गुरुङ, धर्मराज शाही, परोपकार अधिकारी, सन्तोष आले, सुदर्शन पनेरू, दीपेन्द्र ढकाल, सुमन थापामगर र हिक्मत शाहीलाई पक्राउ गरेको छ ।

‘चुरे दोहन हामीलाई स्वीकार्य छैन, त्यसलाई पूर्ण रूपमा रोक्नुपर्छ । भ्रष्टाचार र कमिसनको खेलमा रुझेका ओली कुर्सी जोगाउन संविधान र व्यवस्थाप्रति घात गर्दै अनेक तिकडम रचिरहेका छन्, उनका कदम जनविरोधी छन्,’ महामन्त्री भट्टराईले टेलिफोनमा भने, ‘जबसम्म यस्ता कदम रोकिन्नन्, नेविसंघ सडकमा उत्रिरहन्छ ।’उनले सरकारका यस्ता गतिविधिका विरुद्धमा प्रतिरोधका लागि आह्वानसमेत गरेका छन् ।