असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न मन्त्री श्रेष्ठको निर्देशन

प्रकाशित मिति:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट कक्षा सञ्चालन गर्न निर्देशन गरेका छन् । बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा उनले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका हुन् ।यस्तै, मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी १ साउनबाट नै सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन पनि दिएका छन् । उनले बजेटको विषयमा कुनै कसर बाँकी राख्न नहुने भन्दै कार्यान्वयन हुनेगरी काम अघि बढाउन पनि भनेका छन् ।उनले शिक्षकलाई कोरोनाको खोप लगाउन स्वास्थ्य मन्त्रालयमा पठाएर निवेदनबारे जानकारी लिन आग्रह गरेका छन् । नयाँ पाठ्यपुस्तक ढुवानीको लागि सिसिएमसीसँग पत्राचार गर्न उनले मन्त्रालयलाई निर्देशन दिएका छन् ।

 

कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने धारणा राखे ।छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने जानकारी दिए ।आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी समेत उनले बताए ।उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपिया सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको स्पष्ट पारे ।