टेक्ससको सिटी काउन्सिल मेम्बरमा नेपाली युवा टिका पौडेल विजयी

प्रकाशित मिति:

टेक्ससस्थित युलेस सिटी काउन्सिल मेम्बरका लागि भएको चुनावमा टीका पौडेल विजयी भएका छन्। शनिबार राति सम्पन्न मतगणनामा पौडेलले प्रतिद्धन्द्धी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बर भएका हुन्। सिटी काउन्सिल मेम्बरले स्थानीय विकास निमार्ण, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा नीति निमार्णका काम गर्छन्। म हाम्रो समुदायका मुद्दाहरू सिटीमा उठाउने छु’, जित पछि टिकाले भने, ‘निःशुल्क प्रि-स्कुल, खानेपानी, सडक सुधार, पार्कलगायतका मुद्दा उठाउने छु।’

गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो। तर, त्यतिबेला उम्मेदवारले ५० प्रतिशत मत पाउन नसकेपछि रनअफ राउण्डमा चुनाव भएको हो। रनअफको प्रावधान अनुसार बढी मत पाउने दुई जना बीच पुनः चुनाव भएको हो। युलेस सिटी नेपालीको ठूलो जनसंख्या रहेको स्थान हो। डीएफडब्लु अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको युलिस सिटीमा करीब तीन हजार नेपालीको बसोबास रहेको अनुमान छ। तर, नेपाली अमेरिकन मतदाता भने करीब ६ सय थिए । अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता समाप्त हुने भएकाले अधिकांश ग्रिनकार्डमै बस्दै आएका छन्। मत हाल्न नागरिक नै हुनुपर्छ। टिकाको चुनावलाई नेपाली समुदायले पनि व्यापक समर्थन गरेको थियो। उनलाई वर्तमान राष्ट्रपति जो वाईडेनको डेमोक्रेटिक पार्टी, एसिएन अमेरिकन र अफ्रिकन अमेरिकनको सहयोग थियो ।