प्रचण्डले भने- ओलीले षडयन्त्र गरे, मेरो कारण नेकपा खारेज भएको होइन

प्रकाशित मिति:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको विरोध गर्नुभएको छ ।

आफूले एकताको काममा कहिल्यै बाधा नगरेको भन्दै उहाँले ओलीले भनेको भनाईको निन्दा गर्दै षडयन्त्रपूर्ण रहेको बताउनुुभएको हो ।सोमबार फेसबुक र ट्वीटरमा आफ्नो प्रष्टीकरण दिदै प्रचण्डले भन्नुभएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताउनुभएको थियो ।

यसअघि पनि सार्वजनिक कार्यक्रमहरुमा उहाँले पटकपटक प्रचण्डलाई फोन गरेर एकता गरौँ भनेको भन्दै मन्तब्य पनि दिनुभएको थियो । २३ फागुनमा सर्वाेच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी पूर्ववत अवस्थामा फर्काइदिएको थियो । एकता गर्ने भए निर्वाचन आयोगमा १५ दिनभित्र निवेदन दिन भनेको थियो ।