नयाँ युगलाई चुनौती दिने निर्मलाको फोटो कसले टाँस्यो ?

प्रकाशित मिति:

काठमाडौं , १३ मंसिर – गत मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने क्रममा नयाँ युगको शुरूवात भन्दै राजधानीका पोलपोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोष्टर टाँसिए ।योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमिकका बीचमा, सडक निर्माणमा जताततै व्यप्त रहेको बताएका थिए ।

यही प्रचार र अभिव्यक्तिलाई समाउँदै केही युवाले गए राती निर्मलाका लागि न्याय माग्न पोष्टर टाँसेका छन् । राजधानीका मूख्य मूख्य स्थानमा टाँसिएका पोष्टरमा भनिएको छ ‘सरकार भेटियो, न्याय भेटिएन ।’

४ महिनासम्म पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न नसकेको भन्दै सरकारलाई दवाव दिन यस्तो प्रतीकात्मक पोष्टरिङ गरिएको यसमा संलग्न युवाहरुले बताएका छन् । पहिचान खुलाउन नचाहने स्वतन्त्र युवाको हैसियतमा गरिएको पोष्टरिङ निर्मालाका लागि न्याय खोज्न दबावका लागि गरिएको उनीहरुको भनाइ छ ।

यही समूहले नै राष्ट्रपतिका लागि सवारीसाधन खरिद गर्न राज्यकोषको १८ करोड रुपैयाँ फजुल खर्च भएको र त्यसको विरोध जनाउन केही दिन पहिले पशुपति मन्दिर परिसरमा १ रुपैयाँ भिखमाग्ने कार्यक्रम गरेका थिए ।