सम्यक ज्ञानपुञ्ज डा. माधवराज पन्थीप्रति भावपूर्ण श्रद्धाञ्जली- डा. बालकृष्ण चापागाई

प्रकाशित मिति:

डा. बालकृष्ण चापागाई- डा. माधवराज पन्थीसंग मेरो २०३८÷०३९ साल तिर भेट भएको हो । म अनेरास्ववियूको रुपन्देही जिल्ला अध्यक्ष एवं सातौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्य भएपछि केन्द्रीय बैठकका लागि काठमाडौं जाँदा बाल्मिकी क्याम्पसमा उहाँसंग भेट भएको थियो । त्यतीबेला उहाँ अनेरास्ववियूको सक्रिय नेता हुनुहुन्थ्यो ।

उहाँले बाल्मिकी क्याम्पसमा उच्च शिक्षा पढ्दै  हनुहुुन्थ्यो । त्यतिबेलाका चर्चित विद्यार्थी नेताहरु टंक कार्की, रामचन्द्र आचार्य, बलराम समालहरु उहाँका अत्यन्तै निकट साथीहरु थिए ।म रुपन्देहीको कलिलो उमेरको विद्यार्थी नेता भएको नाताले भेट हुना साथ उहाँले निकै चासो लिएर रुपन्देही र कपिलवस्तुका बारेमा धेरै जिज्ञाशा राख्नु भएको मलाई अहिले पनि अस्ति भर्खर जस्तो लाग्छ । त्यसपछि केही वर्ष मेरो उहाँसंग प्रत्यक्ष भेट भएन । उहाँले पढाई पूरा गरिसकेपछि केही समय भूमिगत रुपमा पार्टी राजनीति र त्यसपछि प्रध्यापनतिर लाग्नु भयो । त्यसबेला खास भेट भएन । केही दिन अघि एमाले नेता युवराज ज्ञवालीले डा. माधवराज पन्थीका बारे सन्दर्भ आउँदा उहाँ अत्यन्तै इमान्दार व्यक्ति भएको उहाँले बताउनु भयो । वर्दिया जिल्लामा पार्टी काममा जिम्मेवारीमा रहेर पञ्चायतकालमा भूमिगत रुपमा काम समेत गर्नुभएको चर्चा गर्दै उहाँले उतिबेला पनि पुष्पलालको जीवनशैली र विचारबाट प्रभावित पन्थी अन्ततः ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयमा विद्यावारिधि (पीएच्.डी) नै गर्नुभएको सन्दर्भ पनि जोड्नु भयो ।

उहाँले ठाउँ ठाउँमा पढाउँदै आउनु भयो । कपिलवस्तु आफ्नो घर भएकाले बहुदल आएपछि एक पटक मेयरको चुनावसमेत लड्नु भयो । अधिवक्ता समेत हुनुभएकोले कानून व्यवसायीको रुपमा समेत कपिलवस्तुमा क्रियाशील हुनुभयो ।विद्यार्थी राजनीति, पार्टी राजनीति, चुनावमा उम्मेदवार, प्राध्यापन उहाँको जीवनका उकाली ओराली हुन् भन्ने मलाई लाग्दछ । समयले जताजता उहाँलाई धकेल्दै लगेपनि अन्ततः उहाँको मुख्य क्षेत्र प्राध्यापन नै भयो । उहाँले कपिलवस्तु क्याम्पस, प्यूठानको स्वर्गदारी क्याम्पस,परासीको पाल्ही क्याम्पस, पछिल्लो समयमा बुटवल बहुमुखी क्याम्पसमा स्थिर भई लामो समय पढाउनु भयो । यसै बीच विद्यावारिधि पनि गर्नुभयो । बुटवल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख समेत हुनुभयो । सह–प्राध्यापक सम्म पुगी केही महिना अघि मात्र निवृत्त हुनु भएको थियो ।मेरो घनिभूत सम्पर्क उहाँले परासीको पाल्ही क्याम्पस पढाउन थालेपछि भएको हो । एक दिन दैनिक जनसंघर्षको कार्यालयमा आउनु भयो । त्यतिबेला पुष्पलालको जन्मजयन्तीको समय आएको थियो । उहाँले त्यही विषयसंग सम्बन्धित लेख, रचना छाप्न मलाई प्रेरित गर्दै सल्लाह दिनु भएको थियो । उहाँलाई मैले नियमित रुपमा लेख पठाउनका लागि अनुरोध गरें । जनसंघर्ष पत्रिकामा प्रकाशन गर्छु भनें । उहाँले हुन्छ भन्नु भयो । त्यसपछि हाम्रो सम्पर्क निरन्तर जारी रहेको हो ।

बुटवल बहुमुखी क्याम्पसमा उहाँले प्राध्यापन गर्न थाल्नु भएपछि हामी झनै निकट भयौं । एकातिर उहाँ मेरो गुरु अर्को पाटोबाट राजनीतिक हिसाबले साथी जस्तो भयौं ।मुलुकको सम–सामयिक राजनीतिलाई बुझ्ने र दृष्टिकोण बनाउने सवालमा हाम्रो लामो समयपछि भेट हुँदा बीचको अवधिमा प्रस्तुत विचार र मुल्यांकनमा जहिले पनि एउटै बुझाई हुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– राजनीतिक घटनाक्रमको विश्लेषणमा तपाई हामी जहाँ भएपनि भेट नभए पनि एउटै हुदो रहेछ भन्ने गर्नु हुन्थ्यो । आखिर हुन्थ्यो पनि त्यही ।मान्छेसंग निरन्तर भेट हुने कुरा पनि विचार, स्वभाव, शैली मिल्यो भने मात्र हुँदो रहेछ । उहाँसंग मेरो मित्रता अत्यन्तै घनिष्ट थियो, स्नेहपूर्ण थियो । प्राज्ञिक पनि थियो । भेट भएपछि विश्व राजनीति र नेपालको अवस्थाबारे चर्चा हुन्थ्यो । विवेचना गरिन्थ्यो । हामीले गरेको विश्लेषण यथार्थपरक पनि हुने गथ्र्यो । तर सत्ता स्वार्थमा केन्द्रित राजनीतिमा विश्लेषण सही भए पनि मुलुक हाक्नेहरुले गलत मार्ग समाए पछि आखिर सही विश्लेषण पनि अर्थहीन जस्तो महसुस हुन्थ्यो हामी दुईलाई ।उहाँ राजनीतिशास्त्र र नेपालीमा एम.ए., कानूनीरुपमा अधिवक्ता, विद्यावारिधि गर्नु भएको प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो । भेट हुँदा अरु व्यवहारिक कुरा संगै अध्ययनका विषयमा अत्यन्तै चासो दिएर मलाई सोध्ने आफूले जानेको कुरा सिकाउन खोज्ने उहाँको विशेष गुण थियो ।उहाँको साथ र पछि– पछि लाग्दा–लाग्दै मैले पनि नेपालीमा एम. ए., पत्रकारितामा एम. ए., कानूनमा एल.एल. बी (अधिवक्ता समेत) ,
‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि (पीएच्.डी.) गर्न सम्म सफल भएं । यसमा उहाँको प्रेरणादायी र महत्वपूर्ण भूमिका रहेकोले यस घडीमा उहाँप्रति आभार एवं कृतज्ञा व्यक्त गर्दछु ।

विशेष गरी विद्यावारिधि गर्दा मेरो शोध विशेषज्ञ भई उहाँले मलाई दिनु भएको प्रेरणा र मार्ग दर्शनलाई मैले कहिल्यै विर्सन सक्दिन ।
बितेका ४ वर्ष त हामी झनै नजिक भयौं । मैले विद्यावारिधिको झण्डै १ हजार पृष्ठको शोध प्रबन्ध २०७४ सालमै विश्वविद्यालयमा प्रस्तुत गरेको थिएं । त्यसलाई शोध विधि अनुसार खँदिलो बनाउनका लागि शोध निर्देशक प्रा. डा. गितु गिरीज्यूको परामर्श अनुसार विश्वविद्यालयले डा. माधवराज पन्थीज्यूलाई शोध विशेषज्ञको रुपमा खटायो । उहाँको परामर्शमा मैले फेरि झण्डै चार वर्ष शोध प्रबन्धलाई परिमार्जन र खदिलो बनाउन लागें । २०७७ फागुन १९ गते भएको अन्तिम मौखिक परीक्षा (भाइभा) भई विश्वविद्यालय अनुसन्धान समितिको निर्णयबाट मलाई विद्यावारिधि उपाधि प्राप्त भएको हो । मैले विद्यावारिधि उपाधि पाउँदा उहाँ म भन्दा पनि धेरै खुसी हुनुभयो ।यस बीचमा हामी अनुसन्धानका क्रममा विषयवस्तुसंग सम्बन्धित विभिन्न स्थलमा पुग्यौं । कैयौ पुस्तकालयहरु धायौं । कैयौं दिन मैले तयार पारेका पाण्डुलिपिहरु हेरी मलाई परामर्श दिन र सच्याउनका लागि उहाँले प्रयाप्त समय दिनुभयो । तरिकाहरु बताउनु भयो । परिस्कृत गराउनु भयो । ती दिनहरुको यतिबेला मलाई निकै सम्झना भइरहेको छ ।

यस क्रममा हामी डा. माधवराज पन्थी,अग्रज पत्रकार चतुर्भज आत्रेय र म पूर्वी नवलपरासीको रहजरमा प्राकृतिक चिकित्सालयमा केही दिन संगै बसेर अध्ययन साधना समेत ग¥यौं । यस बीचमा हामीले पूर्वीय दर्शन, संस्कृत साहित्य र बौद्ध दर्शनका बारेमा विभिन्न कोणबाट छलफल र विवेचना पनि ग¥यौं । त्यो ऐतिहासिक क्षणको यतिबेला सम्झना भइरहेको छ ।विडम्बना सबैको प्रिय विद्वान माधव सर दिवंगत हुनुभयो । कोभिडको कारणले गर्दा विरामी अवस्थामा रहनु भएका चतुर्भुज आत्रेयलाई पनि यस बीचमा प्रत्यक्ष भेट गर्न पाएको छैन । शनिबार दिउँसो उहाँसंग फोनमा लामो कुरा भयो । माधव सरका बारेमा कुरा गर्दै अत्यन्त सरल, गुणग्राही, विद्वान व्यक्ति त्यसमा पनि हाम्रो अत्यन्तै घनिष्ट व्यक्ति बितेकोमा दुबैले उहाँलाई सम्झदै भावुक पनि भयौं ।पछिल्लो समयमा उहाँसंग मेरो फोन सम्पर्क भइरहन्थ्यो । हाल खबर सोध्ने क्रममा भन्नुभयो–बुहारीलाई कोभिड देखियो । चितवन भरतपुर अपचाररत छिन् । नाती हामी संग यही छन् । यसलाई कसरी जोगाउने हो ? भनेर चिन्ता व्यक्त गर्नुभयो । नातीले पनि उहाँलाई जहाँ जाँदा पनि नछोड्ने, प्राणभन्दा प्यारो थियो नाती उहाँको लागि । आफ्नो चिन्ता लिनु भएको थिएन । त्यस पछि दुई तीन दिनमा फेरि मैले फोन गरें, लौ मेरो पनि कोभिड पोजेटिभ देखियो भन्नु भयो । मैले नआत्तिनोस सञ्चो हुन्छ , घरमै छोरा बुहारी डाक्टर छन्, चिन्ता गर्नु पर्दैन भने । मलाई त केही हुन्न सञ्चो हुन्छ भन्नु भयो ।

सबैले कोभिड चेक गर्नुपर्ने स्थिति आयो भन्नु भयो । केही मैले गर्नुपर्ने काम भए फोनमा भन्नुहोला भने । अर्को दिन फोन गरें मलाई ठीक छ सतर्क भएर बसेको छु केही हुँदैन भन्नु भयो । मुलुकको समसामयिक राजनीतिबारे समेत चर्चा गर्नुभयो ।त्यसको दुई दिन पछि मैले फोन गर्दा उहाँकी श्रीमती कमला पन्थी म्याडमले फोन उठाउनु भयो । उहाँलाई सञ्चो नभएजस्तो लाग्यो । सरलाई कस्तो छ ? भनेर सोधें – सरलाई त अलिक श्वासप्रस्वासमा गाह्रो जस्तो भएर छोराले भरतपुर लगेका छन् भन्नु भयो ।बीच बीचमा उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्दा राम्रो भइराछ भन्ने कुरा आयो । पछि त उहाँलाई आइ. सी.यू, भेन्टिलेटरमा राखिएको, बोल्न अप्ठ्यारो छ भन्ने कुरा आयो । यसको दुई चार दिनमा त उहाँको देहावसान भएको दुःखद र पत्याउन पनि गाह्रो हुने खबर आयो । उहाँको निधन भएको पनि १५ दिन भइसकेको छ । यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

उहाँका दाजु पहिल्यै युवा अवस्थामा घर छोडर (२३ वर्षको उमेरमा) हिड्नु भएको र घर नफर्किनु भएकोले आफ्नो दाजुको सम्झनामा डा. पन्थीज्यूले ‘यायावर’ भन्ने खण्ड काव्य लेख्नु भएको छ । त्यो खण्ड काव्यको विमोचन र समीक्षा कार्यक्रम दैनिक पत्र राष्ट्रिय दैनिकको प्रधान कार्यालयमा विभिन्न क्षेत्रका विद्वानहरुको उपस्थितिमा भएको थियो । उहाँले नेपाल–भारत सम्बन्धका बारेमा गहकिला लेख प्रकाशित गर्नु भएको छ । समसामयिक लेख त उहाँका नियमित प्रकाशित भैरहन्थे । पुस्तकहरु पनि प्रकाशित भएका छन् । आजसम्म राजनीति र प्राध्यापनबाट प्राप्त गरेको ज्ञानलाई अब व्यवस्थित रुपमा सञ्चारित गर्ने हो भन्नु हुन्थ्यो । केही दिन अघि बुटवलमा पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आयोजना गरेको मेरो अध्यक्षता भएको कार्यक्रममा उहाँलाई ‘मुलुकको राजनीतिक निकासमा पुष्पलालका विचारको

सान्दर्भिकता’ बारे प्रमुख विचार प्रस्तोताका रुपमा बोलाइएको थियो । त्यस कार्यक्रममा उहाँले पुष्पलालका विचार बारेमा गर्नु भएको प्रस्तुति अत्यन्तै उच्च कोटीको थियो । त्यसपछि उहाँले नेपाल समाजवादी केन्द्र भन्ने संस्थाद्वारा आयोजित बुटवलको अर्को कार्यक्रममा वामपन्थी नेता देवेन्द्र पौडेलसहितका वक्ताहरु हुनुभएको कार्यक्रममा आफ्ना गहन विचार प्रस्तुत गर्नु भएको थियो । मेरो जानकारीमा भए अनुसार सार्वजनिक कार्यक्रममा बोल्नु भएको त्यो नै अन्तिम हो कि जस्तो लाग्छ । उहाँको बुबा जीवीत छँदै मेरो पनि कपिलवस्तुमा भेट भएको थियो । विद्वान हुनुहुन्थ्यो ।अहिले पनि पत्याउनै गाह्रो डा. पन्थी सरको निधनले आहात हुुनु भएकी भाउजु कमला पन्थी, उहाँका छोरा, बुहारी र नातीलगायतका शोक सन्तप्त परिवारजनमा शोकलाई शक्तिमा परिणत गरी अगाडि बढ्न धैर्यता प्राप्त होस् भन्ने कामना गर्दछु । सम्यक ज्ञानपुञ्ज दिवंगत डा. माधवराज पन्थीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँका कृति र उहाँले पढाएका विद्यार्थी र उहाँबाट सम्प्रेषित ज्ञान सदैव अमर रहने छन् भन्ने विश्वास हामीलार्ई छ । अस्तु भवतु सब्ब मंगलम् । २०७८ जेठ २३ गते, बुटवल