सेयर बजारमा समान्य करेक्सन

प्रकाशित मिति:

साताको दोस्रो कारोबार दिन सोमबार बैंकिङ्ग उपसमूहमा करेक्सन आँउदा नेप्से सूचकमा पनि सामान्य गिरावट देखिएको छ। विगत केहि दिनदेखि बढ्न थालेको बैंकहरुको शेयरमूल्यमा सोमबार सामान्य करेक्सन देखिएको छ। यस दिन बैंकिङ्ग उपसमूहको सूचक १.६१ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक नकारात्मक छन भने ७ उपसमूहको सूचक सकारात्मक छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.२७ प्रतिशत र विकास बैंक उपसमूहको सूचक ६.२७ प्रतिशतले बढेको छ।

सोमबार नेप्से सूचक ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ०.३८ अंकले घटेर ५२०.६३ विन्दुमा झरेको छ। यस दिन कारोबार रकममा भने केही गिरावट देखिएको छ। आइतबार १७ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा सोमबार १६ अर्ब रुपैयाँभन्दा कमको शेयर कारोबार भएको छ। यस दिन २२१ वटा कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँमा खरिद बिक्री भएको छ।

सोमबार कारोबारमा आएका कम्पनीहरुमध्ये १७ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकाँश फाइनान्स कम्पनी रहेका छन्। यस दिन पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आइसिएफसि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कामना सेवा विकास बैंकको ९.९८ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.९७ प्रतिशत र गुडविल फाइनान्सको ९.९६ प्रतिशतले बढेको छ।

यता उच्च रुपले शेयरमूल्य घट्ने कम्पनीहरुमा भने अधिकाँश बाणिज्य बैंकहरु रहेका छन्। यस दिन लक्ष्मी बेंकको शेयरमुल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको २.९० प्रतिशत,सनराइज बैंकको २.७१ प्रतिशत र कुमारी बैंकको २.६७ प्रतिशतले घटेको छ। सोमबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६२ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको ४६ करोड ६२ लाख, नेश्नल हाइड्रोपावरको ४३ करोड २४ लाख, कुमारी बैंकको ३४ करोड ४१ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।