जब वुहानको झल्को दियो !

प्रकाशित मिति:

काठमाडौँ । दोस्रो लहरले उत्कर्षको बाटो तताउँदै थियो। हरेक घण्टाजसो एकपछि अर्को एम्बुलेन्सको साइरन बजिरहेको सुनिन्थ्यो। जति एम्बुलेन्स भित्रिने क्रम जारी रहन्थ्यो, त्यति आकस्मिक कक्षका शड्ढया पनि थपिने क्रम बढ्दै जान्थ्यो। आकस्मिक कक्षभित्र शड्ढया थप्ने ठाउँको अभाव हुन थालेपछि बाहिर राखेर भए पनि उपचार सुरु हुन थाल्यो। भुइँमा राखेर उपचार गर्न समस्या हुन थालेपछि कुर्सीमा राखेर भए पनि उपचार सुरु भयो। अस्पतालको क्षमताभन्दा बढी बिरामी राखेर यस्तो अवस्थासम्म अस्पतालपरिसर भित्रिएका जति बिरामीलाई सकेसम्म फर्काउने गरिएन। लेखकले अस्पतालको सो अवस्थालाई मानव र भाइरसबीच भएको महायुद्धसँग तुलना गरेका थिए।

लेखक अरू स्वास्थ्यकर्मीसँगै आकस्मिक कक्षमा थिए। त्यहाँ एक संक्रमित वयस्क छातीको एक्स–रे गर्न आफैं सवारी चलाएर आएका रहेछन्। सामान्य अवस्थामा आइपुगेका ती संक्रमित अचानक ढले। आकस्मिक कक्षका स्वास्थ्यकर्मीद्वारा बिरामीको तुरुन्त उपचार गरियो र केही घण्टापछि होसमा आए। हिँड्दाहिँड्दै ढलेका अरू पनि थुप्रै संक्रमित देखिरहँदा लेखकलाई ‘वुहानको झल्को’ दिइरहेको थियो। चीनमा कोरोना महामारी हँुदा मानिसहरू हिँड्दाहिँड्दै ढलेका अपत्यारिला जस्ता लाग्ने दृश्यहरू विभिन्न सामाजिक सञ्जालमा देखेको थिएँ।

धेरैले सायद दोस्रो लहर आउँदैन वा पहिलो लहरजस्तो जटिल हुँदैन भनेर सोचेका थिए। लेखकले दोस्रो लहरको सम्भावना व्यक्त गर्दैगर्दा धेरैले आशंकासमेत व्यक्त गर्ने गर्दथे। फलस्वरूप, जनस्वास्थ्यका मापदण्ड पालना गर्नेतिर कसैको ध्यान देखिएन। यसैबीच बेलायतमा देखिएको नयाँ ‘अल्फा भेरिएन्ट’ नेपालमा पनि देखा पर्‍यो। नेपालले बेलायतसँगको हवाई आवतजावत बन्द गरेको तर नेपाल–भारत खुला सिमानाका कारण नयाँनयाँ भेरिएन्ट भित्रिन सक्ने भए पनि सोको रोकथामको पूर्वतयारीप्रति पर्याप्त ध्यान दिइएन। भारतमा अल्फा, बेटा र गामा भेरिएन्टका कोरोना भाइरसहरू देखा परिसकेका थिए।

लेखकले योबाहेक भारतमै पनि नयाँ भेरिएन्टका भाइरसको विकास हुनसक्ने आशय लेखहरूमार्फत पनि प्रकट गर्दै आइरहेका थिए। भारतमा कोरोना भाइरसको ग्राफ तीव्र गतिमा उकालो लाग्ने र ठूलो संख्यामा संक्रमितको मृत्यु हुने क्रममा भाइरसको स्वरूप (जिनोम सिक्वेनसिङ) परीक्षण गरिएको थियो। सो परीक्षणमा कोरोना भाइरसको नयाँ भेरिएन्ट पत्ता लाग्यो। यो समाचार आजको नागरिक दैनिकमा छ ।