काठमाडौं, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनलाई माओवादी केन्द्र, कांग्रेस र एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले मत दिएका छन् ।
प्रदेशसभामा मत विभाजन हुँदा विश्वासको मतका पक्षमा ३० र विपक्षमा नौ मत परेका छन् । मुख्यमन्त्री भट्टलाई बहुमत पुर्याउन २७ सांसद आवश्यक थिए । १२ जना सांसद मत विभाजनमा सहभागी भएनन् । प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका २४ सभामुखबाहेक कांग्रेसका १२ र जसपाका २ सांसद छन् । तीमध्ये एमालेको नेपाल–खनाल समूहका १७ जना सांसद छन् । जसपाका दुवै सांसद महन्थ ठाकुर–राजेन्द्र महतो समूहका हुन् ।