लुम्बिनीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै, विपक्षी गठबन्धनले पनि साथ दिने

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरी संसदमा सम्बोधनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको छ । सरकारले आगामी वर्षको अधिकांश बजेट कोभिड–१९ को नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्र एवं व्यक्तिलाई राहत दिने गरी ल्याउने सरकारको तयारी छ ।

यता, मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई बहुमत पुष्टि गर्न चुनौती दिँदै आएका लुम्बिनी प्रदेशका विपक्षी गठनबन्धनका सासंदहरुले भने आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रमलाई प्रदेशसभामा पेस गर्न दिने भएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले आफ्ना मागहरु कायम राख्दै नीति तथा कार्यक्रमलाई प्रदेशसभामा पेस गर्न दिने बताईन् । क्षेत्रीले नीति तथा कार्यक्रम संसदमा पेश हुन दिने तर आफूहरुले अध्ययन नगरि पारित हुन नदिने बताईन् ।

विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री पोखरेल संविधानको धारा १६८ को अपधारा १ अनुसार अल्पमतमा रहेकाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्ति र शपथ खाएको सरकारको स्वरुप अब उपधारा २ अनुसार भएको उनीहरुको भनाइ छ ।