कति प्यारा दिदीबहिनी

प्रकाशित मिति:

चितवन- माउबाट छुट्टिएका दुई गैंडाका बच्चा दिदीबहिनीजस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्किरहेका छन्। एउटाको नाम पुष्पा र अर्कोको अञ्जली राखिएको छ। यी दुईबीचको उमेर अन्तर तीन महिनाको छ। पुष्पाको उमेर ६ महिना र अञ्जलीको उमेर तीन महिना भयो। यी दुवैका माउ भने अलग–अलग हुन्। यिनका अभिभावक हुन् वन्यजन्तु प्राविधिक लालबहादुर महतरा।

यी दुई गैंडा बिहानदेखि बेलुकासम्म छुट्टिँदैनन्। एकअर्कालाई नदेखे कराइहाल्छन्। दिउँसो डुल्दा वा चर्दाचर्दै थकाइ लागेर पुष्पा सुत्दा अञ्जली पनि छेउमै गएर सुत्छे। खोलामा नुहाउने, चर्ने, डुल्ने काम सँगै गर्छन्। एउटा जता जान्छ अर्को उतै पछ्याउँछ।‘जंगल जाँदा फर्किंदा, आहाल बस्दा, डुल्दा सँगै हुन्छन्’, महतराले भने, ‘यिनीहरूको माया मान्छेको जस्तै छ। दिदीबहिनीजस्तै सँगै खेल्ने डुल्ने गर्छन्। एकछिन छुट्टिँदैनन्।’महतरा हरेक बिहान ६ बजे दुवै गैंडा बाहिर निस्कन ढोकामा पर्खेर बस्छन्। माउको माया पाउन नसकेका यी दुई गैंडाका बच्चालाई उनले माया दिएका छन्। महतराको आवाजलाई सजिलै ठम्याउँछन्। उनले बोलाएपछि लुरुलुरु पुग्छन्। जंगल डुलाउने, खोलामा पुर्‍या‍‍एर नुहाउने काम पनि उनकै हो। पुष्पाको तुलनामा अञ्जली अलि टाठी रहेको उनले सुनाए। भोक लागेपछि सँगै भएको पुष्पालाई छाडेर एक्लै दूध खान जान्छे। पछि फर्किएर आउँछे।

‘ठूलोको तुलनामा सानो अलि टाठो र चतुर छ’, उनले भने, ‘जिस्केर मलाई धकेल्छ। उस्तै परे बुइँ चढ्न आउँछ। यिनीहरूको चर्तिकलाले आनन्द आउँछ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा। बाबुराम लामिछानेले प्राकृतिक वासस्थानमा बाँच्न सक्ने भएपछि निकुञ्जमा छोडिने बताए।