सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दल र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने, प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा

प्रकाशित मिति:

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने दल र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई पनि बैठकमा आउन पत्र पठाएका छन् । प्रतिनिधिसभा विघटनबारे छलफल गर्न शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको हो ।सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाने भन्छन्, ’सभामुखज्यूले यसअघि पनि पूर्वसभामुख, संविधानविद्सँग छलफल गर्नुभएको थियो । शुक्रबारको छलफल पनि त्यसैको निरन्तरता हो ।

’सभामुख सापकोटाले ११ जेठमा पूर्वसभामुखहरूसँग छलफल गरेका थिए । उनले पूर्वसभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरासँग छलफल गरेका थिए ।उनले १३ जेठमा संविधानविद् तथा कानुनविद्हरूसँग छलफल गरेका थिए । प्रतिनिधिसभा विघटनलाई सभामुख सापकोटाले असंवैधानिक कदम भन्दै आएका छन् ।
प्रतिनिधिसभा विघटनको कदम शक्ति पृथकीकरण सिद्धान्तविपरीतसमेत रहेको उनको ठम्याइ छ ।

गत ८ जेठमा वक्तव्य जारी गर्दै उनले भनेका थिए, ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन । राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिँदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत हुन गएको छ ।’