सेयर वजारमा सामान्य करेक्सन – हाइड्रो, विकास बैंक र फाइनान्समै आकर्षण,

प्रकाशित मिति:

काठमाडौं : सेयर बजार बिहीबार सामान्य रहेको छ । नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा अडिँदा १६ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यस दिन हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक समूहमा तेजी देखिएको छ । १२ कम्पनीको भाउ ९% भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । यसरी वृद्धि हुनेमा अधिकांश हाइड्रोपावर समूहकै कम्पनीहरु रहेका छन् ।

विशेषगरी पुँजी कम भएका कतिपय हाइड्रोपावर कम्पनीहरुको मूल्य बढेर सर्किट लागेको देखिन्छ । ठूला पुँजी भएका कम्पनीहरुको वित्तीय अवस्था सबल रहे पनि मूल्य भने खासै बढ्न सकेको छैन । सेयर बजार समग्रमा बुल रनमा रहेको छ । बुलिस ट्रेन्ड भएकाले अहिले भाउ नबढेका समूहहरुमा पनि क्रमशः तेजी आउने विश्वास गर्न सकिन्छ । सेयर बजारका सबै समूहका सूचकहरु एकसाथ वृद्धि नभई समूह घुमाइघुमाई फरकफरक समयमा तेजी आउने गरेको पाइएको छ । सोही कारण पनि केही समूहमा तेजी आएपछि फेरि त्यसमा सामान्य करेक्सन आउने र पुनः अरु समूहतिर लगानीकर्ताहरु आकर्षित हुने प्रवत्ति रहेको छ ।

विगतका बुलहरुमा पनि वाणिज्य बैंकहरु लगायत तुलनात्मक रुपमा बढी पुँजी भएका कम्पनीहरुमा सबैभन्दा पछि लगानीकर्ता आकिर्षत हुने गरेको थियो । यसपटक पनि सोही प्रवृत्ति दोहोरिने संकेत देखिएको छ । बुल रन भएकाले ठूला पुँजी भएका कम्पनीहरुको पनि अवश्य भाउ वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । यसर्थ, लगानीकर्ताहरुमा धैर्यता आवश्यक देखिन्छ । आत्तिने भन्दा पनि धैर्यतापूर्वक हेर्ने, अध्ययन गर्नेतर्फ ख्याल गर्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गरेपछि दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन ।

लगानी गरिएका कम्पनीहरुको समग्र वित्तीय अवस्था, लाभांश क्षमता, भविष्यमा व्यवसाय विस्तारको सम्भावना, सञ्चालक तथा व्यवस्थापन समूहमा पनि ख्याल गर्नुपर्ने हुन्छ । साथमा, जोखिम लिन सक्ने क्षमता, आफूले होल्डिङ गर्न चाहेको अवधिमा पनि ध्यान दिन आवश्यक हुने विश्लेषकहरु बताउँछन् । बैंकमा रहेको सहज तरलता, सस्तो ब्याजदर, लगानीका अन्य क्षेत्रमा संकुचन लगायत पनि सेयर बजारमा अझै बढी आकर्षण वृद्धि हुन गएको हो । १३ मध्ये ६ वटा समूहको सूचक बढेको छ । २२० कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । ८३ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा एचआइडीसीएल अग्रस्थानमा रहेको छ । यसको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले पनि खरिदबिक्रीमा निकै उत्साह आएको अनुमान गरिएको छ । यसैगरी, खरिदबिक्री रकममै दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र लुम्बिनी विकास बैंक परेका छन् ।