प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको बिहीबारको बैठकमा कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरुको जीवनलाई सहज बनाउँदै अर्थतन्त्रलाई पुनत्थान गर्ने योजनासहितको नीति, कार्यक्रम पेस गरेका हुन् ।कोभिड–१९ विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने प्रदेश प्रमुखले जनाएको छ ।
कोभिडका कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने बताइएको छ ।प्रदेशका सबै कानुनहरू समेटिएको विद्युतीय पोर्टल सञ्चालिनमा ल्याइने, प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन प्रणालीको सुरुआत गरी आयोजनालाई व्यवस्थित गरिने तथा प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम र बहुवर्षीय, अधुरा र क्रमागत आयोजनाहरूलाई बजेट विनियोजन सुनिश्चित गरेपछि अन्य आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।