दाङमा एक व्यावसायीको हत्या

प्रकाशित मिति:

दाङ, मंसिर १४– घोराही स्थित एक व्यवसायीको छुरा प्रहार गरि हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षीय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका घर्तीलाई उपचारका लागि अस्पताल लगिएको तर अस्पताल पुर्‍याएलगत्तै उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । घटना स्थलमा घर्तीको शरीरमा प्रहार भएको चक्कु समेत फेला परेको प्रहरीले जनाएको छ । घर्तीमगरले घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्कको माथिल्लो सेवार पुल नजिकै माडी हार्डव्यर पसल सञ्चालन गर्दै आएका थिए ।

बिहिबार साँझ एक जनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुग भएपछि केही विवाद भएको प्रहरीले जनाएको छ ।

सामान खरिद गर्न आएका रोल्पा तालाबाङका एक ग्राहकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि घाइते रहेको र शरीरमा लगाएको रक्ताम्य लुगा फेरिसकेकोले घटनामा उनको संलग्नताबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।