विश्वकप छनोटः नेपालले आज अष्ट्रेलियाको सामना गर्दै

प्रकाशित मिति:

काठमाडौँ । विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई रोक्ने प्रयासमा छ भने अष्ट्रेलिया सहज जितको खोजीमा छ । नेपाल विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ । यस्तै, पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य नतिजा भन्दा पनि राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।

जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । जसमा नेपाल ५-० ले पराजित भएको थियो । अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । यता नेपाल ६ अंकसहित चौथो स्थानमा रहेको छ ।