अन्धाअन्धी क्षेत्र चित्राङ्कित हुलाक टिकट प्रकाशन हुने

प्रकाशित मिति:

स्याङ्जा । नेपाल सरकारले मन्त्रीपरिषद्को मिति २०७८ जेठ १५ गतेको निर्णय अनुसार आँधीखोला गाउँपिलकाको प्रमुख धार्मिक एवम् पर्यटकीय क्षेत्र अन्धाअन्धी क्षेत्रको चित्राङ्कित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको छ ।

यसका लागि आँधीखोला गाउँपालिकाले पहल गरिरहेको थियो । अन्धाअन्धी क्षेत्र स्याङ्जाको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मानिन्छ । त्रेता युगमा राजा दशरथ शिकार खेल्दै यस क्षेत्रमा आएका, आफ्ना दृष्टिविहिन आमाबाबुलाई पवित्र मुक्तिनाथ यात्रा गराउने क्रममा रात परेपछि पञ्चासे वरिपरि बाबुआमालाई राखेर पानी लिन श्रवणकुमार घ्याङस्रीको जङगलमा पुगेका, पानी डुबाउने क्रममा आएको आवाजलाई मृगको आवाज ठानेर बाण हान्दा दशरथको वाण लागि भान्जा श्रवणकुमारको मृत्यु भएको, छोराको मृत्युले भावविह्वल भएका बाबुआमाको आँशुबाट अन्धाअन्धी दह बनेको र यसै दहबाट बगेको खोलाको नाम आँधीखोला रहन गएको पौराणिक आख्यानमा आधारित सन्दर्भले यस क्षेत्रको महत्व रहेको पाइन्छ ।

महत्वपूर्ण क्षेत्र भए पनि विविध कारणले ओझेलमा परेकोले यसको प्रचार प्रसार नभएको अवस्थामा हाल हुलाक टिकट प्रकाशनको निर्णयले यस क्षेत्रको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा दिने देखिन्छ । ‘हुलाक टिकट प्रकाशन हुनु अन्धाअन्धी क्षेत्रका लागि मात्र नभएर समग्र स्याङ्जाकै लागि गौरवको विषय हो । अन्धाअन्धी क्षेत्रको महत्व र गरिमालाई राष्ट्रव्यापी बनाउने कुरामा यसले भूमिका खेल्छ’ आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले भने । पौडेलले अन्धाअन्धी क्षेत्रको विकासका लागि अध्यक्ष भएदेखि नै सक्रियता लिइरहेका छन् ।