पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने

प्रकाशित मिति:

२८ जेठ, काठमाडौं । सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो ।सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । नयाँ नक्सा जारी हुनुअघि प्रकाशन भएको विद्यालयस्तरको पाठ्यपुस्तक अहिले पनि प्रचलनमा रहेको पाइएपछि सरकारले ती पाठ्यपुस्तकको पाना फेर्न लागेको हो ।

शुक्रबार बसेको पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले गत वर्ष पुरानो नक्सासहित छापिएको पुस्तकको पानालाई संशोधन गर्ने निर्णय गरेको हो । जनक शिक्षा सामग्री एवं निजी प्रकाशन गृहले नयाँ नक्सा जारी हुनुअघि प्रकाशन गरेको पुस्तकको पाना संशोधन गरिने जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।गत बुधबार शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । पुस्तक सबै प्रादेशिक कार्यालयमा पठाइसकिएको र बिक्री वितरण पनि शुरु भइसकेकोले वितरक, विद्यालयमार्फत संशोधन गर्ने निर्णय भएको प्रबन्ध निर्देशक झाले बताए ।

उनले भने ‘हामीले सबै किताब प्रादेशिक कार्यलयमा गइसकेको छ । त्यसैले वितरक र विद्यालयमार्फत पेज रिप्लेस गर्ने निर्णय गरेका छौं ।’ कक्षा ५, ७, ८ को केही प्रतिशत किताबको एउटा पेजमा पुरानो नक्सा छापिएको भेटिएको र अरु किताबमा पनि अनुगमन भइरहेको उनले बताए । देशभर जनक शिक्षा सामग्रीको करिब १२ सय वितरक छन् ।मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न र शिक्षक तथा पुस्तक बिक्रेताहरुलाई कोरोना महामारी विरुद्धको खोप दिन अनुरोध गर्ने निर्णय गरेको छ ।