आज नेपालसँग खेल्न लागेको अस्ट्रेलिया कति बलियो ? यस्तो छ इतिहास

प्रकाशित मिति:

विश्वकप तथा एसियन कपको संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत शुक्रबार नेपाल र अस्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १० बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुने छ ।एसियाको पावर हाउस मानिने अस्ट्रेलिया विरुद्ध नेपाललाई जित निकाल्न भने त्यति सहज हुने छैन ।नेपालका प्रशिक्षक अब्दुल्लाह अमुताइरीले नेपालले अस्ट्रेलिया विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

अस्ट्रेलिया फिफा वरियतामा ४१ औं स्थानमा रहँदा नेपाल १७१ औं स्थानमा छ । यसबाट पनि नेपाल र अस्ट्रेलियाको स्तर कस्तो छ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ ।
छनोटको समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले हालसम्म शतप्रतिशत जित निकालेको छ । ऊ शुक्रबार नेपाल विरुद्ध पनि सोही लक्ष्यका साथ मैदान उत्रिने छ ।छनोटको अन्तिम खेलमा मैदान उत्रिँदा नेपाल सुखद् अन्त्य गर्ने प्रयासमा हुनेछ । नेपाल र अस्ट्रेलियाले हालसम्म १ पटक मात्र एक अर्काको सामना गरेका छन् ।छनोट अन्तर्गत नै भएको पहिलो भेटमा अस्ट्रेलियाले ५(० को सहज जित दर्ता गरेको थियो ।अस्ट्रेलियाले हालसम्म ५ पटक विश्वकपको अनुभव लिइ सकेको छ ।

अस्ट्रेलियाको विश्वकप इतिहास

१९७४

अस्ट्रेलियाले सन् १९७४ जुन १४ मा पूर्वी जर्मनी विरुद्धको खेलबाट विश्वकपमा डेब्यु गर्‍यो । उसले पहिलो खेल २-० ले गुमाएको थियो । समूह ‘ए’मा रहेको अस्ट्रेलिया दोस्रो खेलमा पश्चिम जर्मनसँग ३-० ले पराजित भयो ।समूह चरणबाटै बाहिरिएको अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै विश्वकपमा ऐतिहासिक पहिलो अंक जोड्यो ।

२००६

पहिलो विश्वकप खेलेको लामो समयपछि अस्ट्रेलियाले दोस्रो पटक सन् २००६ को विश्वकपमा स्थान बनायो । यस विश्वकपमा भने उसले उत्कृष्ट प्रदर्शन गर्‍यो ।समूह ‘एफ’ मा रहेको उसले ३ खेलमा समान १ जित, हार र बराबरीको नतिजा सहित ४ अंक जोडेर उप(विजेताको रूपमा अन्तिम १६ सम्मको यात्रा तय गर्‍यो ।उसले २००६ जुन १२ मा जापानमाथि ३-१ को ऐतिहासिक पहिलो जित निकाल्यो । दोस्रो खेलमा ब्राजिलसँग २-० ले पराजित हुँदा तेस्रो तथा अन्तिम खेलमा क्रोएसियासँग २-२ को बराबरी खेल्यो ।अस्ट्रेलियाले अन्तिम १६ मा इटालीसँग उत्कृष्ट प्रदर्शन गरे पनि थप गरिएको समयमा पेनाल्टीमार्फत गोल खाँदै १-० को हार बेहोरेको थियो ।

२०१०

सन् २०१० को विश्वकपमा अस्ट्रेलियालाई भाग्यले साथ नदिँदा समूह चरणबाटै बाहिरियो ।समूह ‘डी’ मा रहेको अस्ट्रेलिया घानासँग समान ४ अंक भए पनि गोल अन्तरमा पछि परेको थियो । पहिलो खेलमा जर्मनीसँग ४-० ले पराजित भएको अस्ट्रेलियाले दोस्रो खेलमा घानासँग १-१ को बराबरी र तेस्रो खेलमा सर्बियालाई २-१ ले पराजित गर्‍यो ।

२०१४
सन् २०१४ को विश्वकपमा अस्ट्रेलियाको इतिहासकै सबैभन्दा खराब प्रदर्शन थियो । समूह ‘बी’ मा रहेको ऊ पहिलोपटक अंक विहीन हुन पुग्यो ।अस्ट्रेलिया पहिलो खेल चिलीसँग ३-१, दोस्रो खेलमा नेदरल्यान्डसँग ३(२ र तेस्रो खेलमा स्पेनसँग ३-० ले पराजित भयो ।

२०१८

२०१८ मा पनि अस्ट्रेलियाको विश्वकप यात्रा समूह चरणबाट अघि बढ्न सकेन । समूह ‘सी’मा रहेको उसले ३ खेलमा २ हार १ बराबरीको नतिजा सहित १ अंक जोड्यो ।पहिलो खेलमा फ्रान्ससँग २-१ ले पराजित भएको उसले दोस्रो खेलमा डेनमार्कसँग १-१ बराबरी र तेस्रो खेलमा पेरुसँग २-० को हार व्यहोर्‍यो ।अस्ट्रेलियाले हालसम्म १६ विश्वकप खेल्दा २ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको छ । उसले ३३ गोल खाँदा १३ गोल फर्काएको छ ।

अस्ट्रेलियाले पछिल्ला लगातार ४ विश्वकपमा सहभागिता जनाएको छ ।