कांग्रेस केन्द्रीय समिति बैठक एकहप्तासम्म लम्बिन सक्ने !

प्रकाशित मिति:

मङ्सिर १४ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एक हप्तासम्म लम्बिन सक्ने भएको छ । कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथिको केन्द्रीय समितिमा बिहीबारदेखि जारी छलफलमा सदस्यहरुले बोल्ने क्रम जारी रहँदा समिति बैठक लम्बिन सक्ने देखिएको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वनिधारित (बिहान ११ बजे) समय भन्दा निकै ढिला गरी सुरु भएको बैठकको पहिलो दिन डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, प्रदीप पौडेल लगायतले आफ्नो धारणा राखेका छन् ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्व विधान मस्यौदा समिति सदस्य जोशी र पौडेलले पदाधिकारी संख्या थप, क्रियाशील सदस्यता हटाउने, संसदीय र कार्यसम्पादन समितिको निर्वाचन जस्ता विषयमा फरकमत लेखेका छन् । उनीहरुले आफुले राखेका फरकमतका विषयमा केन्द्रीय समिति बैठकमा स्पष्टीकरणसहित धारणा राखेका हुन् ।

जोशीले घनिभूत छलफल भइरहेको र अन्तमा सर्वसम्मत गर्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । उनले नेपालको संविधानले अनुसार विधान संशोधन गर्नुपर्ने भएकाले र समयअनुसार आधुनिक एवं परिमार्जित विधान बनाउनु पर्ने भएकाले पनि सोचसमझ राखेर सर्वसम्मत गरिने प्रयास हुने बताए ।

मंसिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेस भएको विधान मस्यौदाका केही विषयमा संस्थापन र इतरका नेताहरु गुटगत स्वार्थका आधारमा प्रस्तुत गर्ने आन्तरिक तयारीमा रहेको बुझिन्छ ।

के हुन्छ अब ? 
पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय समिति सदस्यहरुले बोल्ने क्रम केही दिन लम्बिने छ । उनले भने, ‘उहाँहरु कति जनाले बोल्नुहुन्छ, कति समय बोल्नुहुन्छ यसले नै निर्धारण गर्छ यसको समयअवधि । वृहत रुपले आफ्नो विचार राखिरहनु भएकाले मलाई लाग्छ यो बैठक ५–७ दिन चल्छ ।’

केन्द्रीय समितिले पािरत गरेको विधान मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेस हुनेछ ।

जारी केन्द्रीय समिति बैठकले विधान संशोधन, राजनीतिक आर्थिक, सांगठनिकसहितका प्रस्ताव पारित गर्नुपर्ने हुन्छ।

महासमिति बैठक आउन अझै दुई हप्ता बाँकी रहेकाले एक हप्ता केन्द्रीय समिति बैठक चले पनि केन्द्रीय समिति बैठकले पारित गरेको विधान दुई तीन दिनमै प्रेसमा प्रिन्ट भएर आउने छ ।

यो हिसाबले १० दिनसम्म केन्द्रीय समिति बैठक चले पनि फरक नपर्ने संकेत सचिव पौडेलले गरे । विधानमा अधिकार र केन्द्रीय सदस्यहरुको संख्यामा विवाद कायमै छ ।

अहिले घनिभूत छलफल गरेर अन्तिममा सर्वसम्मत नै विधान आउनेमा केन्द्रीय सदस्यहरु आशावादी छन् । केन्द्रीय सदस्यहरु आफूले बनाएको संशोधित विधानबारे महासमितिमा प्रश्न नउठ्ने गरी अगाडि बढ्न सचेत देखिएको मुख्यालय स्रोत बताउँछ ।