अन्तिम खेलमा ३-० ले पराजित

प्रकाशित मिति:

काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल ३-० गोलअन्तरले पराजित भएको छ।

खेलको छैठौं मिनेटमा म्याथ्यु लेकेइको गोलमा अग्रता बनाएको अस्ट्रेलियाका लागि ३८ औं मिनेटमा फ्रान काराकिकले गोल थपे। सुरुबाटै डिफेन्सिभ देखिएको नेपालले आक्रमणको राम्रो अवसरहरु बुन्न सकेन।पहिलो हाफको अन्तिम मिनेटमा आक्रमणको क्रममा रहेका अस्ट्रेलियन खेलाडीलाई फउल गरेपछि नेपालका रोहित चन्द रेडकार्ड खाँदै बाहिरिएका थिए। यद्यपि दोस्रो हाफमा दश खेलाडीमा सीमित नेपालले सम्हालिएको प्रदर्शन गरेको थियो।

पहिलो हाफमा दुई गोलले अघि रहेको अस्ट्रेलियाका लागि तेस्रो गोल खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले गरेका थिए।फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो।जितसँगै अस्ट्रेलियाले सात खेलबाट २१ अंक निकाल्दै समूहको शीर्ष स्थान सुरक्षित गरेको छ। नेपालले भने ८ खेलबाट ६ अंक जोड्दै समूहको चौथो स्थानमा समेटियो।