वैद्यले माफी माग्दै भने ‘मैले अलि बढी बोलेँ, सभामुखज्यू त्यो रेकर्डबाट हटाइदिन अनुरोध छ’

प्रकाशित मिति:

बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले आत्मआलोचनासहित अभिव्यक्ति फिर्ता लिएका हुन् ।

उनले केन्द्र र प्रदेश संसदीय दलको निर्देशनबमोजिम आफूले उक्त बयान फिर्ता लिएको बताए । ‘आफूलाई लागेका कुरा खुलस्त बोल्न पाइने हक छ । यो विषयमा अन्त मुद्दा मामिला नहुने ग्यारेन्टी संविधानतः छ । मैले हिजो प्रदेशसभामा बोल्ने क्रममा खुलस्त भएर बोलेँ । तर, त्यस क्रममा अभिव्यक्ति स्वतन्त्रताको अलि बढी नै उपयोग गरेजस्तो लाग्यो’, वैद्यले भने, ‘मेरो उक्त भनाइ रेकर्डबाट हटाइदिनुहुन सभामुखसमक्ष अनुरोध गर्दछु ।

प्रदेशसभामा हिजो उनले प्रधानमन्त्रीविरुद्ध आफू नाथुराम गोड्से हुन तयार रहेको बताएका थिए । त्यसपछि उनकै पार्टी कांग्रेससहित एमालेलगायतका दलले उक्त भनाइप्रति आपत्ति जनाउँदै आत्मआलोचना गर्न भनेका थिए । कांग्रेसको प्रदेश संसदीय दलले उक्त भनाइलाई अमर्यादित र असंसदीय भन्दै फिर्ता लिन निर्देशन दिएको थियो । गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।