सुकीको ‘स्कर्टिङ’मा खटिएको मोटरसाइकललाई माइक्रोले ठोक्यो, असईको ‘करङ’ भाँचियो

प्रकाशित मिति:

काठमाडौं , १४ मंसिर – त्रिपुरेश्वरमा माइक्रोको ठक्करबाट एकजना ट्राफिक सहायक निरीक्षक (असई) घाइते भएका छन् ।

बा. १ ज. ६५७७ नम्बरको माइक्रोको ठक्करबाट बा २ ब २५४३ नम्बरको ट्राफिक मोटरसाइकलमा सवार असई दिपेन्द्र गुरुङ घाइते भएका हुन् ।

एसिया प्यासिफक समिटमा भाग लिन नेपाल आइपुगेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सूकीलाई ‘स्कर्टिङ’ गरेर होटल सोल्टीमा पुर्‍याएर फर्किँदै गर्दा बिहीबार बेलुका त्रिपुरेश्वरमा माइक्रो बसले ठक्कर दिएको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए ।

घाइते गुरुङलाई सुरुमा प्रहरी अस्पताल लगिएको थियो । प्रहरी अस्पतालले उनलाई नर्भिक अस्पतालमा रिफर गरेको थियो । घाइते गुरुङको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरी परिसर काठमाण्डुका एसएसपी वसन्त लामाका अनुसार टाउको र करङमा चोट लागेका गुरुङ खतरामुक्त छन् । घाइते गुरुङका ५ वटा करङ भाँचिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।