गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रकरणः प्रदेश प्रमुख निवास अगाडि विपक्षी सांसदकाे धर्ना

प्रकाशित मिति:

काठमाडौँ । गण्डकी प्रदेशको प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि विपक्षी गठबन्धनका बहुमत प्रदेशसभा सदस्यहरुले धर्ना दिएका छन् । नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखको निवासमा पुगेका हुन्।

२७ गते विश्वासको मत नपाएका गुरूङ स्वत पदमुक्त भएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आह्वान गरेकी थिइन् । शुक्रबार नै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले ३१ जना सांसदको बहुमत हस्ताक्षरसहितको दाबी पत्र बुझाएको थियो ।

तर, गुरूङले पनि राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटीको समर्थन रहेकाे पत्रसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेपछि विवाद उत्पन्न भएकाे हाे । तर, जसपाका सांसदहरू भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् । -जनतापाटीबाट