प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका छोरा बने गण्डकीका मुख्यमन्त्री

प्रकाशित मिति:

काठमाडौं, जेठ २९ : गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका माइला छोरा हुन् ।

उनी २००६ सालमा तनहुँ (हाल व्यास नगरपालिका–११) मा जन्मेका हुन् । उनका पिता गोवर्धन पोखरेल कांग्रेस तनहुँका संस्थापक नेता हुन् । राणा शासनविरुद्ध आन्दोलनमा लागेकाले उनको परिवारको सर्वश्व हरण भएको थियो । गत आम निर्वाचनमा उनी नवलपरासी–१ ‘क’बाट निर्वाचित भएका थिए । ०४८ सालपछि झण्डै दुई दशक उनी नवलपरासी कांग्रेसका सभापति भएका थिए । त्यसपछि गण्डकी प्रदेशभामा कांग्रेस संसदीय दलको नेता भएका थिए ।

१२ औँ महाधिवेशनबाट उनी कांग्रेस केन्द्रीय सदस्य पनि निर्वाचित भएका थिए । उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव पनि भएका थिए । उनका भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । कान्छा भाइ सुवासचन्द्र पोखरेल भने अमेरिकामा बस्छन् ।