असार २४ गतेसम्म सदस्यता टुंग्याएर साउन ६ गतेबाट वडा अधिवेशन गर्ने कांग्रेसको प्रस्ताव

प्रकाशित मिति:

नेपाली कांग्रेसले आसन्न महाधिवेशनका सन्दर्भमा असार २४ गतेसम्म क्रियाशील सदस्यता टुंग्याएर साउन ६ गतेबाट वडा अधिवेशन गर्ने प्रस्ताव गरेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले क्रियाशील सदस्यता टुंग्याउने र वडा अधिवेशन थाल्ने मिति सारेको हो ।

पार्टी सहमहामन्त्री डा। प्रकाशशरण महतले असार ५ गतेबाट वडा अधिवेशन गर्न भनिएकोमा समस्या देखिएको जानकारी दिए । ‘वडा अधिवेशनमा समस्या आएपनि भदौमा महाधिवेशन सम्पन्न गर्ने सभापतिज्यूको अठोट छ । त्यही अनुसार हुन्छ,’ महतले भने ।यसअघि जेठ १७ गतेसम्म क्रियाशील सदस्यता छानबिन गरिसक्ने मिति तोकिएको थियो । शनिवारको बैठकले असार २० गते सबै क्रियाशील सदस्यको छानबिन गरेर पार्टी सभापतिलाई सूची दिने र असार २४ गतेसम्म केन्द्रीय कार्यसमितिबाट पारित गराएर अन्तिम नामावली जारी गर्ने प्रस्ताव गरिएको महतले बताए ।

वडा अधिवेशन साउन ६ गतेबाट शुरूआत गर्ने र भदौं १६–१९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी बैठकमा सहमति जुटेको प्रस्ताव केन्द्रीय कार्यसमितिबाट पारित गरेर निर्णय हुने महतले बताए ।