मन्त्री दीपक मनाङेले भने – नयाँ सरकार बन्नुमा भागवत् प्रकाश मल्लको ठुलो भूमिका छ

प्रकाशित मिति:

जेठ ३०, पोखरा । नवनियुक्त मन्त्री दीपक मनाङेले गठबन्धनको सरकार बन्नुमा नेपाली काङ्ग्रेसका युवा नेता भागवत् प्रकाश मल्ल र जसपाकी नेतृ धनमाया लामाको ठूलो हात रहेको बताएका छन् । उनले आफूले कुनै औपचारिक मिटिङमा सरकार बनाउने विषयमा छलफल नगरेको बरु काङ्ग्रेसका नेता मल्लसँग निरन्तर अनौपचारिक कुराकानी गरेको बताएका छन् । उनले युवा तथा खेलकुद मन्त्रालय युवालाई दिनुपर्ने भन्दै त्यसका लागि भागवत् प्रकाश मल्ल सबैभन्दा उपयुक्त हुने बताएका छन् ।

इन्जिनियर र ठेकेदारको कारण विकास निर्माणमा ढिलासुस्ती र भ्रष्टाचार हुने गरेको दीपक मनाङेले बताएका छन् । शपथ ग्रहणपछि पत्रकारहरुसँग बोल्दै मनाङेले इन्जिनियर मिटिङमै नआउने र मन्त्रीले नै इन्जिनियरलाई मिटिङबाट भगाएर बजेट फ्रिज गराउने गरेको बताएका छन् । उनले पृथ्वीसुब्बा गुरुङ व्यक्तिगत रुपमा नरम र सकारात्मक मान्छे भए पनि खराब मान्छेहरुको घेराबन्दीमा परेकाले समस्यामा परेको बताए । उनले आफू सरकारमा गएपछि जताततै भ्रष्टाचार र खराबीमात्रै देखेकोले त्यो सरकारमा आफू बस्दा आफू पनि डुब्ने ठानेर बाहिर आउन खोजिरहेको र अझ संसद नै भङ्ग गर्ने कुरा आउन थालेपछि आफूले राजनीनामा दिएको बताएका छन् ।

उनले जताततै खराब र भ्रष्टहरुको झुन्ड गुरुङ सरकारमा भएकाले आफूले त्यहाँ भ्रष्टाचारमात्र देखेको भन्दै अबको सरकारले पनि भ्रष्टाचार गर्‍यो भने आफू सरकारमा नबस्ने बताएका छन् । उनले जताततै सेटिङमा काम गर्ने र खराब मान्छेलाई पार्टीको मान्छे भन्दै सिफारिस गर्ने प्रवृत्तिका कारण सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । उनले केही ठेकेदारको नाम उल्लेख गर्दै यिनीहरुकै कारण गुरुङ सरकार फँसेको बताए ।