नेप्सेले हटायो ‘एओएन’ व्यवस्था, आवश्यकता अनुसारको सेयर खरिदबिक्री गर्न पाइने

प्रकाशित मिति:

काठमाडौं । दोस्रो बजारको कारोबार गर्ने अनलाइन प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा रहेको एओएन (अल अर नन) को व्यवस्था हटाइएको छ ।ठुला लगानीकर्ताहरूले ‘एओएन ‘ प्रयोग गर्दै कृतिम चाप सृजना गरी सेयरको मूल्य बढाउने चलखेल हुने गरेपछि नेपाल धितोपत्र बोर्डले बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो ।

लगानीकर्ताले कृतिम बिक्रीको चाप देखाई मूल्य बढाएर साना तथा नयाँ लगानीकर्तालाई ठग्ने काम भइरहेको भन्दै धितो पत्र बोर्डमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा धितो पत्र बोर्डले उक्त सुविधा हटाउन भनेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।एओएनको दुरुपयोग गरी कृतिम अर्डर हालेर मूल्य बढाएको भन्दै केही लगानीकर्ताले गुनासो गरेपछी बोर्डले बिक्रीतर्फ उक्त अप्सन सुविधा हटाउनका लागि नेप्सेलाई निर्देशन आएको उनले जानकारी दिए ।‘बाइङ गर्दा कृतिम अर्डर हालेर सेयर मूल्य बढाएको भन्दै धितोपत्र बोर्डमा गुनासो परेको र बिक्रीतर्फ अर्डर हाल्दा एओएन हटाउन बोर्डबाट निर्देशन आएकाले हामीले हटाएका छौं’, उनले भने ।

‘अल अर नन’ अप्सनले बिक्रीमा राखिएको सबै सेयर खरिद गर वा कुनै पनि खरिद नगर भन्ने बुझाउँछ । कुनै लगानीकर्ताले एओएन गरी १५० कित्ता सेयर बिक्रीका आदेश दिएमा खरिद गर्न चाहने लगानीकर्ताले सबै सेयर खरिद गर्नुपर्ने बाध्यता थियो ।धितोपत्र बोर्डको निर्देशननुसार अब त्यस्तो बाध्यता हटेको छ । बिक्री गर्दा एओएन प्रयोग गर्न नपाइने भएपछि लगानीकर्ताले आफ्नो आवश्यकतानुसारको सेयर अर्डर म्याच गरी खरिदबिक्री गर्न पाउनेछन् ।