टेस्ट सिरिजको उपाधि न्युजिल्यान्डलाई

प्रकाशित मिति:

इङ्ल्यान्ड विरुद्धको २ खेलको टेस्ट सिरिज पाहुना टोली न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ ।उसले दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डमाथि ८ विकेटको सहज जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।इङ्ग्ल्यान्डले दिएको ३८ रनको झिनो लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।उसका लागि कप्तान टम लाथमले अविजित २३, विल योङ्गले ८ र डिभोन कोन्वेले ३ रनको योगदान दिए ।इङ्ग्ल्यान्डका जेम्स एन्डरसन र ओली स्टोनले समान १-१ विकेट हात पारे ।

दोस्रो पारिमा इङ्ग्ल्यान्डले सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सकेपछि न्युजिल्यान्डले झिनो लक्ष्य पाएको थियो ।इङ्ग्ल्यान्डका लागि मार्क उडले सर्वाधिक २९ रनको योगदान दिए । ओली पोपेले २३, ज्याक क्राउलीले १७, ओली स्टोनले १५ र कप्तान जो रुटले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।न्युजिल्यान्डका म्याट हेनरी र निल वाग्नरले समान ३-३ विकेट हात पार्दा ट्रेन्ट बोल्ड र अजाज पटेलले २-२ विकेट लिए ।बर्मिङ्घममा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले पहिलो पारीमा सबै विकेट गुमाउँदै ३०३ रन बनाएको थियो । उसका लागि रोरी ब्रुन्स र डानियल लरेन्सले समान ८१-८१ रनको योगदान दिए । ब्रुन्सले १८७ बलमा १० चौका प्रहार गरे ।

अविजित रहेका लरेन्सले १२४ बलमा १३ चौका प्रहार गरे । मार्क उडले ४१ र डोमिनिक सिब्लेले ३५ रन जोडे ।न्युजिल्यान्डका ट्रेन्ट बोल्डले ४, म्याट हेनरीले ३, अजाज पटेलले २ र निल वाग्नरले १ विकेट लिए ।न्युजिल्यान्डले पहिलो पारीमा सबै विकेट गुमाउँदै ३८८ रनको योगफल तयार पारेको थियो ।उसका लागि विल योङ्गले ८२, डिभोन कोन्वे र रोस टेलरले समान ८०-८० रनको योगदान दिए ।योङ्गले २०४ बलमा ११ चौका, कोन्वेले १४३ बलमा १२ र टेलरले १३९ बलमा ११ चौका प्रहार गरे ।इङ्ग्ल्यान्डका स्टुआर्ट बोर्डले ४, मार्क उड र ओली स्टोनले समान २-२ विकेट हात पार्दा जेम्स एन्डरसनले १ विकेट लिए ।पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।