सांसद वैद्यविरुद्ध प्रहरीमा जाहेरी दर्ता

प्रकाशित मिति:

मकवानपुर — वाग्मती प्रदेशसभामा संसदीय मर्यादाविपरीत अभिव्यक्ति दिएका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहनको आरोपमा मुद्दा चलाउन जाहेरी दर्खास्त दिइएको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।सोही अभिव्यक्तिलाई लिएर युवा संघ नेपाल जिल्ला कमिटी सदस्य अनिल काफ्लेले वैद्यविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन् । वैद्यको अभिव्यक्ति मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) तथा सोही संहिताको दफा ३५ (१ र २) को कसुर गरेको जाहेरीमा उल्लेख छ । प्रधानमन्त्री हत्या गर्न उक्साउने वैद्यको अभिव्यक्ति सोही संहिताको उपदफा ३ (ख) बमोजिम मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (२) जन्मकैद सजायको आधा सजाय हुने भएको भन्दै उनले जाहेरी दर्ता गराएका हुन् ।नेपालको संविधान २०७२ को धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूत गरेको र त्यो अधिकार प्रधानमन्त्रीसँग समेत सुरक्षित रहेको जोहरीमा उल्लेख छ । नेपालको संविधानको धारा १७ (१) मा स्वतन्त्रताको हकको व्यवस्था भएपनि अपराध गर्न दुरुत्साहन गरिने सार्वजनिक शिष्टाचारमा वा नैतिकता प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएका मानिने छैन भन्ने व्यवस्थाले समेत वैद्यलाई फौजदारी मुद्दामा कारबाही गर्नुपर्ने काफ्लेको दाबी छ ।उनले संविधानको धारा ४८ मा संविधानमा कानुनको पालना गर्ने प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख भएपनि संवैधानिक दायित्वबाट प्रदेशसभा सदस्य वैद्यले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । संविधानको धारा १८७ (१) ले संविधानको अधिनमा रहेर प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रत्याभूत गरेको भएपनि संवैधानिक व्यवस्था उल्लंघन हुने गरी प्रधानमन्त्रीको हत्या गर्ने भनी अपराधसंहिता २०७४ को दफा १७७ र ३५ बमोजिमको कसुर गरेको दाबी गरिएको छ ।

 

उजुरीकर्ता काफ्लेले प्रदेशसभा सदस्य वैद्यले प्रदेशसभामा माफी माग्दैमा फौजदारी कसुरबाट उन्मुक्ति हुन नसक्ने भन्दै उनलाई कानुनी कारबाहीका लागि जाहेरी दिइएको बताएका छन् । ‘संविधानको धारा १८७ (६) मा फौजदारी अभियोगमा कुनै प्रदेशसभा सदस्यलाई कानुन बमोजिम पक्राउ गर्न बाधा पुर्‍याएको मानिने छैन । यसरी पक्राउ गर्दा सभामुखलाई जानकारी गराइरहनुपर्ने संवैधानिक व्यवस्था अनुसार तत्काल उनलाई पक्राउ गरी आवश्यक कारबाही गर्न माग गर्दछौं ।’, जोहरीमा उल्लेख छ ।प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जाहेरी प्राप्त भएपश्चात दर्ता गरिएको बताए । ‘हामीले जाहेरी दर्ता गराएका छौं । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारी वकिल कार्यालयसँग राय लिनेछौं’, उनले भने । सरकारी वकिलको रायपश्चात बाँकी प्रक्रिया थाहा हुने उनले बताए । चौतर्फी विरोधपश्चात शनिबारको प्रदेशसभा वैठकमा उनले पार्टीको निर्देशन अनुसार आत्मालोचना गरिसकेका छन् ।