कमीकमजोरी नसुधारे निगममाथि हस्तक्षेप गर्ने पर्यटनमन्त्रीको चेतावनी

प्रकाशित मिति:

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।सोमबार काठमाडौँको न्युरोडस्थित निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् । उनले निगममा देखिएको कमीकमजोरी सच्याउँन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी दिए । निगमसँग आन्तरिक उडानका लागि पर्याप्त जहाज हुँदाहुदैपनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले विगत एक वर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ट कारण खोजिने उल्लेख गरे ।

कोरोनाले हवाई सेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुख मात्र नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए । त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए । उनले विगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजार हिस्सामा स्वामित्व जमाउन आक्रमण ढंगले लाग्न पनि निर्देशन दिए ।

सो क्रममा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउन धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए ।कोरोनाको दोस्रो लहरका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको निगमको जिकिर छ ।