निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेकपाका नेता रावलको नेतृत्वलाई आग्रह

प्रकाशित मिति:

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता भीम रावलले कसैको निहित स्वार्थका लागि सरकार र पार्टीको दुरुपयोग नगर्न नेतृत्वलाई आग्रह गरेका छन्।  शुक्रबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक सम्मेलनको ट्वीटरमार्फत सांकेतिक विरोध गर्दै नेता रावलले राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सरकारलाई आग्रह गरेका छन्। दक्षिण कोरियाली संस्था युनिभर्सल पिस फेडरेसन ९यूपीएफ० को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनलाई केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएको छ। धर्म प्रचारक संस्थाका रुपमा परिचित यूपीएफको नेपाल च्याप्टर अध्यक्ष एकनाथ ढकाल रहेका छन्। उनी नेकपाका नेता पनि हुन्। ढकालकै जोडबलमा सुरुमा सरकार एसिया प्यासिफिक सम्मेलनको सह आयोजक बनेको थियो।

जसको प्रमख प्रतिपक्षी नेपाली कांग्रेससहित चौतर्फी विरोध भएपछि सरकार सम्मेलनको सह आयोजकबाट हट्दै सहयोगी मात्रै बनेको छ। साथै सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतको विषय पनि विवादमा परेको छ। कुटनीतिक मर्यादा मिचेर पाहुनाको स्वागतमा गरेको भन्दै आलोचना भइरहेको छ। पाहुनाको स्वागतमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल त्रिभुवन विमानस्थल पुगेका थिए।यस्तो बेला नेकपाका प्रभावशाली नेता रावलले सरकार र पार्टी कुनै व्यक्ति र संस्थाको स्वार्थका लागि दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका हुन्।