ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् । आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका छन् ।शुरूमा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराएका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग खनालले पार्टी मिलाउनुस् कमरेड भनेर आग्रह गरेको खनालसँगै रहेका एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले बताए ।

 

खनालको भनाइ उदृत गर्दै बुढाथोकीले भने, ‘हिजो के-के भयो सबै तीता-मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड । म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।’आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए । ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन् ।

खनालले आफूलाई भेट्न्  आएका महासचिव पोखरेललाई ‘तपाईं यो पार्टी बुझेको र भविष्य भएको नेता हो’ भन्दै मिलाउन आग्रह गरेको बुढाथोकीले जानकारी दिए । हातमै समातेर पोखरेललाई आग्रह गर्दा खनालको आँखामा आफूले आँशु देखेको उनले बताए ।