टिकुलीगढमा प्रादेशिक बस टर्मिनल बनाउन तिलोत्तमा नगरपालिकाको प्रस्ताव

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं। १३ र १४ को टिकुलिगढमा प्रदेश स्तरको बस टर्मिनल प्रस्ताव गरेको छ । प्रस्तावित बस टर्मिनलको जग्गा तिनाउ नदी उकास क्षेत्र हो । यहाँको झण्डै तीस विगाहा क्षेत्रफलमा सुविधासम्पन्न प्रदेश स्तरको बस टर्मिनल बनाउन सकिने नगरपालिकाको प्रस्ताव छ ।बुटवल र भैरहवामा हाल भैरहेका बसपार्कहरु साँघुरा भैरहँदा नगरपालिकाले टिकुलिगढमा नयाँ बस टर्मिनल निर्माण प्रस्ताव गरेको हो । प्रस्तावित बस टर्मिनल निर्माणका सन्दर्भमा नगरपालिकाले शुक्रबार सरोकारवालाहरुसँग छलफल गरेको छ ।छलफल कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सांसद, सरकारी अधिकारीहरु, स्थानीय तहका प्रमुख, यातायात तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिलगायत, सरोकारवालाहरुको सहभागिता रहेको थियो । बस टर्मिनल निर्माणलाई कसरी अघि बढाउने भन्ने बारेमा राय, सुझाव लिन नगरपालिकाले पहिलो चरणको छलफल कार्यक्रम राखेको हो ।छलफल कार्यक्रमका सहभागीहरुले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुग्दै गर्दा नगरपालिकाले प्रस्ताव गरेको बस टर्मिनल समय सापेक्ष र सान्दर्भिक रहेको चर्चा गर्दै बस टर्मिनलसम्म पुग्ने सडकहरुलाई फराकिलो बनाइनुपर्नेमा जोड दिए । सरोकारवालाहरुसँग अझै वृहत् छलफल गरेर लगानीको मोडालिटीसहित बस टर्मिनलको गुरुयोजना निर्माण गर्न सहभागीहरुले नगरपालिकालाई सुझाव दिएका छन् । बुटवल–तिलोत्तमा–भैरहवा निकट भविष्यमैं महानगर बन्ने भएकाले प्रस्तावित बस टर्मिनल निर्माणमा सबैको अपनत्व रहनुपर्ने सहभागी वक्ताहरुको धारणा थियो ।कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रस्तावित बस टर्मिनल निर्माणका सन्दर्भमा छलफल गर्न प्रदेश सरकार तयार रहेको जानकारी गराउनुभयो । नजिकैं रहेको अन्तर्राष्ट्रिय विमानस्थल, पर्टकीय क्षेत्र लुम्बिनी, सिक्सलेन, बेलबास–बेथरी सडक जस्ता पूर्वाधारको उपस्थितिले प्रादेशिक बस टर्मिनलको औचित्यलाई पुष्टि गर्ने उल्लेख गर्दै उहाँले यसका सन्दर्भमा प्रादेशिक योजना आयोगले समेत विस्तृत अध्ययन गर्ने बताउनुभयो ।यसैगरी प्रदेश सांसद दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, र तुलसी प्रसाद चौधरीले तीस बिगाहा जग्गा रहेको उपयुक्र्त स्थानमा बस टर्मिनल प्रस्ताव गरिएको बताउँदै यसको निर्माणमा आफूहरुको सधैं साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले रुपन्देहीका सबै स्थानीय तह र निजी क्षेत्र समेतको समहभागिता रहनेगरी लागत साझेदारीमा बस टर्मिनल निर्माण अघि बढाउँदा उपयुक्र्त हुने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता अनुप बराल, नेपाली कांग्रेसकी नेतृ मनोरमा शेरचन, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु, बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, पश्चिम नेपाल बस व्यवसायी संघका कार्यवाहक अध्यक्ष नारायण घिमिरे, सिद्धार्थ यातायात समितिका उपाध्यक्ष सियाराम यादव, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारीलगायतले बस टर्मिनलका सन्दर्भमा ऐक्यबद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा अवधारणा राख्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि रुपन्देहीमा बढ्ने सवारी चापलाई समेत ध्यानमा राखी परिवर्तित आवश्यकतालाई पूरा गर्न सक्नेगरी नगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको अवधारणा अघि सारेको बताउँदै यसमा सबैको साथ, सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।नगर प्रमुख घिमिरेको अध्यक्षता, उप–प्रमुख जागेश्वरी चौधरीको धन्यवाद, कार्यक्रम संयोजक सोहन प्रसाद थारुको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बस टर्मिनलको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।प्रस्तावित बस टर्मिनल बुटवल–बेलहिया सडकको पत्थरडाँडा चोकबाट ६ किलोमिटरको दुरीमा पर्दछ । प्रस्तावित बसपार्कबाट तिनाउ पूलपारि झण्डै तीन सय मिटर दुरीमा बेलबास–बेथरी सडक रहेको छ । यहाँबाट भैरहवा विमानस्थलको दुरी बेलबास–बेथरी सडकबाट ६ किलोमिटर रहेको छ ।