मिडियामा लैंगिक निती अनिवार्य रहेको सरोकारवालाको भनाई

प्रकाशित मिति:

मिडिया एक्सन नेपालको आयोजनामा मिडियामा लैंगिक मुल प्रवाहीकरण र पत्रकार महिलाको व्यवसायिक सुरक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा बोल्दै सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको सामाजिक विकास महाशाखा प्रमुख शारदा वस्याल बेलबासेले पत्रकार महिलालाई संरचनागत आरक्षणमा राख्न नहुने बताइन् । उनले पेशा गर्दा गर्दै पत्रकार महिलामा हुन सक्ने शारिरिक तथा मानसिक हिंसा न्युनिकरण र भौतिक सुरक्षामा गम्भिर हुनुपर्ने बताइन् । पत्रकारिता क्षेत्रमा आबद्ध पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि प्रदेश सरकारले शिप विकासका तालिम आयोजना गर्न सघाउने बेलबासेले बताइन् । उनले यौनिक तथा लैंगिक अलपसंख्यकको सहभागिता पनि लैंगिकतामा अंकित हुने विषय भएकाले मिडियामा उनीहरुको उपस्थिती र सहभागितालाई समेत संलग्न गराउनुपर्नेतर्फ पनि सोंच्नुपर्ने बताइन् । पत्रकार महिला सुरक्षित हुनसक्ने वातावरण संचारमाध्यमले ख्याल गर्नुपर्ने भनदै उनले विभेदपुर्ण पारिश्रमिकलाई समेत संचार क्षेत्र र नेतृतव तहमा रहेकाहरुले धयान दिन आवश्यक रहेको जनाइन् ।

त्यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ ज्ञानु पौड्यालले पत्रकार महिलाको सकृयता पछिल्लो समय उत्कृष्ट रुपमा देखिएको बताइन् । उनले मिडिया हाउसमा कार्यरत सबै पत्रकारको सक्रियतामा लैंगिक मुद्धालाई मिडियामार्फत उजागर गर्नुपर्ने जनाइन् । मिडियामा साक्षरता नै जरुरी रहेको भन्दै उनले लैंगिक निती निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने जनाइन् । कार्यक्रममा बोल्दै पत्रकार तथा अधिवक्ता डा बालकृष्ण चापागाईंले पत्रकार महिलाको क्षमता अनुसार नेतृत्व तहमै उनीहरुको सहभागिता आवश्यक रहेको बताए । विगतको तुलनामा अहिले संचार माध्यममा पत्रकार महिलाले लेख्ने समाचारमा सामाजिक दृष्टिकोणले दबेर रहेका मसिना विषय उठान भइरहेको भन्दै उनले ती विषयले राजनिती, संविधान र समाजका हरेक अंगमा प्रभाव पारेको बताए । पत्रकार महिलाहरुको प्रवेशसंगै जिम्मेवार पत्रकारिता सुरु भएको चापागाईंको भनाई छ । अनुशासन र मर्यादा सहितको पत्रकारिता गर्न पत्रकार महिला सक्षम रहेको उनी बताउंछन् । खोजी पत्रकारिता केही पुरुषले गरेको देखिरहेको अवस्थामा पछिल्लो समय विश्लेषण पत्रकार महिलाले लेख्ने गरेको बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महिला उपाध्यक्ष चुमा आचार्यले महासंघले बनाउने योजनामा पत्रकार महिलाका विषयमा छलफल गरी उचित कार्यक्रम ल्याउने जनाइन् । उनले संचार माध्यमले पत्रकार महिलाको क्षमतालाई कदर गर्नुपर्ने र स्थान दिई अघि बढ्न प्रोत्साहन गर्नुपर्ने भनाई राखिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिमका उपाध्यक्ष मालती न्यौपाने, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल, ंसंचारीका समुह रुपन्देहीका अध्यक्ष निरु गौतम, डब्लु डब्लु जे रुपन्देहीका अध्यक्ष कल्पना तिवारी लगायतले बोल्दै पत्रकार महिलाको सुरक्षा, पत्रकार महिलालाई हेर्ने दृष्टिकोण, उनीहरुको क्षमताका बाबजुद नेतृत्व तह र सम्पादकीय स्थानसम्म पुग्न नपाउने स्थितीको अन्त्य गरी लैंगिक निती निर्माण र पालना गर्न सके मात्र लैंगिक विभेद हटी पत्रकारिता पेशामा महिलाको सहभागिता र टिकाउ रहीरहने बताए ।


मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मण दत्त पन्तले संस्थाले मिडिया विकास र पत्रकार स्वतन्त्रताका विषयमा विगत ६ वर्षदेखि काम गरिरहेको जनाकारी दिए । उनले विभिन्न संघसंस्थासंगको सहकार्यमा मिडिया एकसनले सम्बन्धित निकायलाई झकझकाउने र पत्रकारको क्षमता अभिवृद्धिका लागि कार्यक्रम गर्ने गरेको बताए । मिडिया एक्सन नेपाल लुम्बिनी प्रदेशको संयोजनमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रियंका झाले वागत गरेकी थिइन् भन सहजीकरण लुम्बिनी प्रदेश संयोजक सन्जु पौडेलले गरेकी थिइन् ।