प्रदेश विपद कोषमा पाँच करोड राख्ने गण्डकी सरकारको निर्णय

प्रकाशित मिति:

पोखरा असार ३ – गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा ५ करोड रुपैयाँ जम्मा गर्ने भएको छ। पछिल्लो समयको भारी वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा क्षति पुगेकाले उद्धार तथा राहत व्यवस्थापनका लागि सो रकम जम्मा गर्न लागिएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज (बिहीबार) बसेको बैठकले उक्त निर्णय गरेको हो। अविरल वर्षका कारण आएको बाढीपहिरोले गण्डकी प्रदेशमा पर्ने मनाङ जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ। उक्त क्षतिको अवलोकन गर्न मुख्यमन्त्री पोखरेलसहितको टोली आजै मनाङ जाने भएको छ। गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित टोली त्यता जान लागेको हो।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा परेकाको उद्धार तथा सहयोगमा जुट्न, फेरि पनि आउन सक्ने विपद व्यवस्थापनका लागि पूर्वतयारी गरी जुनसकै बेला खटिन सक्ने अवस्थामा रहन निर्देशन दिए। वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मत गरी यातायत सञ्चालनमा ल्याउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रबन्ध मिलाउन भनिएको छ।