अब निर्माण क्षेत्र र उद्योग खुला

प्रकाशित मिति:

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ ।

समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।बैठकले गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने समेत निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिएका छन् ।सरकारले यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई ७ असारसम्म बढाउने निर्णय गरेको छ ।

यसअघि खाद्यान्न पसलहरूसमेत बन्द गर्ने निर्णय भएकोमा अहिले भने हाल बिहान ११ बजेसम्म पाउनेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइनेछ । यस्तै, प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । पुस्तक पसलहरू पनि बिहान ११ बजेसम्म मात्रै खोल्न पाइनेछन् । यसका साथै अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ ।यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानीसमेत गर्न पाइने भएको छ ।