निर्मलाको न्यायको लागि मार्इतीघरमा विरोध, ‘नेताबाट सिकेछ प्रहरी पनि बिकेछ’

प्रकाशित मिति:

मङ्सिर १५ काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्दै काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरिएको छ । न्यायको माग गर्दै शुक्रबार पोस्टर टाँसेको विरोधमा प्रहरीले १२ जनालाई पक्राउ गरेपछि शनिबार स्वतस्फूर्त रुपमा माईतीघरमा अधिकारबादीहरु उपस्थित भएका हुन् ।

दिउँसो १२ बजे स्वतस्फूर्त रुपमा भेला भएका न्यायप्रेमी नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरी विरुद्ध चर्काे नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी पनि राजनीतिक दलका नेताहरु जस्तै विकेको भन्दै विरोध गरेका हुन् । उनीहरुले ‘नेताबाट सिकेछ प्रहरी पनि बिकेछ’ भन्दै नारा लगाएका छन् ।

शुक्रबार मात्रै निर्मलाको न्यायको लागि पोस्टर टाँस्ने क्रममा माईतीघर मण्डलाबाट ३ जना पुरुष र ९ जना महिलालाई पक्राउ गरेको थियो ।

बृत्तका अधिकारीहरुका अनुसार गृहमन्त्रालयबाट नै निर्मला पन्तको विषयमा पर्चा पम्प्लेट टाँस्नेलाई पक्राउ गर्नु भन्ने आदेश रहेकोले यस्तो गरिएको हो । पक्राउ परेका १२ जनालाई कहिले हिरासत मुक्त गराईन्छ ? भन्ने विषय अहिले नै जानकारी दिन नसकिने बृत्तका प्रहरीअधिकारीहरुले जनाएका छन् ।

यस अघि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकूल बाँस्कोटाले निर्मला पन्तको विषयमा सरकारी सञ्चारमाध्यमहरुमा कुनैपनि सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्देशन दिएको समचार बाहिर आएको थियो । यसमा सञ्चारमन्त्री बास्कोटाले आपत्ति जनाएको भएपनि त्यसपछि समेत सरकारी सञ्चारमाध्यमहरुले यस्ता सामग्रीहरु प्रस्तुत गरेका छैनन् ।